नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अध्यात्मवादलाई अन्धविश्वास र अज्ञानताको संज्ञा दिएका छन् ।
शनिवार पार्टी केन्द्रिय कार्यालयमा १० औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले धर्मका नाममा ढुंगा पूज्दै हिँड्न विज्ञानसम्मत नभएको जिकिर गरे ।
अध्यक्ष दाहालले आध्यात्मवाद वा परम्परागत जडताले विभेदतिर, अपमानतिर, उँचनिच बनाएर मानिसहरुलाई फुटाउनेतिर लैजाने बताए । उनले विज्ञान प्रविधिले समानता, समाजवादतिर, न्यायतिर लैजाने उल्लेख गर्दै विज्ञानको बारेमा देशमा ठूलो वहस चलाउन आवश्यक रहेको बताए । उनले नेपालमा तेत्तिसकोटी देवता हुन्छन्, जताततै देवतालाई पूजा गर्दै हिँड्नुपर्ने, मान्छेलाई लात हान्दै हिँड्ने, ढुंगालाई पूजा गर्दै हिँड्ने संस्कार रहेको उल्लेख गर्दै नेपाली समाज अझै विज्ञानको क्षेत्रमा पस्न नसकेको बताए ।
‘विज्ञान प्रविधिले समानता, समाजवादतिर, न्यायतिर लैजान्छ । आध्यात्मवाद वा परम्परागत जडताले विभेदतिर, अपमानतिर, उँचनिच बनाएर मानिसहरुलाई फुटाउनेतिर गएको छ । मैले अहिले यसमा डिबेट ठूलो गर्न लागेको होइन । हामीकहाँ त अब तेत्तिसकोटी देवता हुन्छन्, जताततै देवतालाई पूजा गर्दै हिँड्नुपर्ने, मान्छेलाई लात हान्दै हिँड्ने, ढुंगालाई पूजा गर्दै हिँड्ने संस्कार छ नि । मैले फेरि धर्मलाई नेगेटिभ भनेको होइन है । चुनावको बेला छ, प्रचण्डले भनेपछि घट्ला भन्ने डर पनि छ, छन त । तर विज्ञान, प्रविधि दिवस भएकाले मैले त्यसलाई अपमान नगरीकन भनेको हो । हामी घरैपिच्छे पूजा गर्दै हिँड्ने मान्छेलाई पूजा गरे, गरिवलाई पूजा गरे कति राम्रो हुन्थ्यो । यो डिबेट हाम्रो समाजमा नै राम्रो डिबेट गर्नुपर्ने विषय छ ।’ उनले भने, ‘हामीलाई विद्वानहरुले पनि ज्ञान मर्दछ, हाँसेर, रोई विज्ञान मर्दछ भनेर सिकाइयो, बालकृष्ण समको त्यो सही होइन । ठूलै साहित्यकारले भनेपनि त्यो कुरा सही छैन । यो संस्कारले हाम्रो समाजमा विज्ञान प्रविधिको विकासलाई अवरोध गरेको छ । एक जमाना थियो, मानिसले बुझिसक्नु थिएन । प्रकृति के हो, किन चट्याङ किन पर्छ, भन्नेकुरा त्यतिबेलाका मान्छेलाई बुझिसक्नु थिएन । त्यसैले माथि कोही छ, सञ्चालक कोही छ, त्यसको करामत हो भन्दिएपछि त्यसलाई खुशी पारे बाढी, आगो, डढेलो लाग्दैन, महामारी रोगव्याधी आउँदैन भनेपछि एउटा बाच्ने आधार बनाए । विभिन्न तरिका अपनाए । त्यो अज्ञानतामा आधारित छ । थाहा नपाएर हो । त्यसले कुनै जमानामा मानिसलाई बचायो ।’
अध्यक्ष दाहालले देश विकासका लागि सबैले आफ्नो सोचाइ र हेराईको दृष्टिकोणलाई बदल्न वैज्ञानिक छलफल गर्न आवश्यक रहेको बताए ।





























प्रतिक्रिया