काठमाडौं ।
प्रधानमन्त्री भएर पनि केपी शर्मा ओली भ्रष्टाचारमा लिप्त भएको नेकपाका अध्यक्ष माधवकुमार नेपालले आरोप लगाएका छन् ।
प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आज राजधानीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।

केपी ओलीसँग नेकपा र आफूहरुले कहिल्यै नझुक्ने पनि नेता माधव नेपालले बताएका छन् । प्रधानमन्त्रीको कदम गैरसंवैधानिक भएको पनि नेपालले आरोप लगाए ।
कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीले संविधानको ध्वंस गर्ने काम गरेको आरोप लगाएका छन् । केपी ओलीले प्रतिगमन गरेका कारणले आफूहरु विरोधमा उत्रिनु परेको बताउँदै खनालले सिंगो देशकै जनता अहिले सडकमा उत्रिएको बताए । जब सम्म केपी ओलीले घुँडा टेक्दैनन् तब सम्म आफूहरुको आन्दोलन नरोकिने उनले बताए ।
केपी ओली कम्युनिष्टका कलंक रहेको आरोप लगाउँदै उनले ओली नेकपाका भगौडा भएको बताए । ओलीलाई पार्टीबाट निकालिएपछि नेकपा अब स्वतन्त्ररुपमा अघि बढेको पनि खनालले बताए ।
आजको विरोध कार्यक्रममा काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न नौ स्थानमा भेला भएर नेकपाका नेता, कार्यकर्ता तथा स्थानीय जनसमुदायले जुलुस निकालेका थिए। सभालाई अहिले शीर्ष नेताहरुले सम्बोधन गरिरहेका छन् ।
राजधानीका विभिन्न स्थानबाट निस्केका जुलुसको नेतृत्व प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य गणेश साह, गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, वेदुराम भुसाल भीमबहादुर रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईं, देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डे, कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, घनश्याम भुसाल, जनार्दन शर्मा, योगेशकुमार भट्टराई लगायतले गरेका थिए ।





























प्रतिक्रिया