रौनक गुमाएको हरितालिका तीज वर्ष-०७७ (भिडियोसहित)

रौनक गुमाएको हरितालिका तीज वर्ष-०७७ (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आज नेपाली हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तीज । तर, आजको माहोल तीज जस्तो लाग्दैन । अघिल्ला वर्षहरूमा देशभरका शिवालाय तथा मठमन्दिरहरूमा भक्तजनहरूको घुँइचो हुने दिन आज, यो वर्ष सुनसान छ । उपत्यका सहित विभिन्न सहरका गल्लीहरूमा महिला दिदी बहिनीहरूले तीजका गीत घन्काउँदै कम्मर हल्लाउने दिन आज शहर आवाज बिहिन छ । चार्ड पर्व र संस्कृतीभन्दा कोरोना भाइरस समुदायमा हाबीहुँदा सबै नेपाली निरिह प्रायः बन्नु परेको छ । यी र यस्तै विषयमाथि रहेर आज हामीले तपाईंहरू समक्ष, यो तीज विशेष रिपोर्ट लिएका छौं ।

भिडियोमा :

नेपाली हिन्दु महिलाहरुको महान् पर्व हरितालिका तीजमा यो वर्ष सधैंको जस्तो हर्सो उल्लास र रमझम छैन । अघिल्ला वर्षमा झैं व्रतको अघिल्लो दिन अर्थात दर खाने महिलाहरूको घर र माइतीका लागि खुवै आवतजावत हुने गर्दथ्यो । तर, यो वर्ष कोरोना कहरमा तीज पनि रुमलिन पुगेको छ ।

सामान्य अवस्था हुँदा महिना दिन अघिदेखि रातो सारीमा छपक्कै गहना लगाएर हिँडेका महिलाहरुले भरिने काठमाडौँ शहर अहिले सुनसान भएको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोभिड १९ संक्रमणको जोखिम पछिल्लो समय उपत्यकामा पनि ह्वात्तै बढेपछि स्थानीय सरकारले गरेको सील र निषेधाज्ञाका कारण चहल पहल हुने बजार र मन्दिर क्षेत्रहरु यतिबेला सुनसान बनेका छन् ।

सरकारले पनि कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सामूहिक रुपमा तीज नमनाउन सबैलाई अपिल गरेको छ भने उपत्यका लगायतका क्षेत्रमा निषेधाज्ञा नै जारी छ । पछिल्ला केहि वर्षदेखि महिलाहरुले दर खाने कार्यक्रम हप्तौँ अगाडिदेखी सामुहिक रुपमा पार्टी प्यालेस अथवा ठुलाठुला होटलहरुमा मनाउने चलन बढेको थियो । जसकारण यस समयमा पार्टी प्यालेस र होटलहरुको व्यापार पनि निकै हुने गर्दथ्यो । तीजका कार्यक्रमहरुले भ्याईनभ्याई हुने समयमा यतिबेला भने देशभरका पार्टी प्यालेस र होटलहरु बन्द अवस्थामा छन्, सुनसान छन् । विगतका वर्षहरुका तीजमा महादेव शिव भगवानको मन्दिरहरु विशेष गरि पशुपतिनाथको मन्दिरमा राति देखिने महिला श्रद्धालु र ब्रतालुहरु पुजा गर्नको निमित्त लाईन बस्न पुग्थे ।

भक्तजनहरुको धेरै भिडभाड हुने भएकोले पुरुष भक्तजनहरुलाई मुख्य मन्दिरमा प्रवेश गर्न समेत रोक लगाईन्थ्यो भने पशुपतिनाथ मन्दिर र परिसर थरिथरिका फूलहरुले सजाएर चिटिक्क पारिन्थ्यो । तर कोरोना महामारीको कारण स्थानीय सरकारले सात जना भन्दा बढी मानिस एकैठाउँ नबस्नु भिडभाड नगर्नु भन्ने आदेश दिएपछि इतिहासमै पहिलो पटक तीजको समयमा श्रद्धालुहरुका लागि पशुपतिनाथको बाहिरी गेट नै बन्द गरिएको छ ।

तीजलाई श्रृंगार र पहिरनको पर्वको रुपमा पनि लिने गरिन्छ । त्यसैले तीज सिजनमा सुन चाँदीका गहनादेखि साडी, लेहेंगा र कुर्था लगायत पहिरनको व्यापार अरु पर्वमा भन्दा अधिक मात्रामा हुने गर्दछ । त्यस्तै सौभाग्यको प्रतिक मानिने चुरा, पोते लगायतका श्रृंगार सामाग्रीको व्यापार पनि तीजको अर्को ठूलो व्यापार हो । तर कोभिडका कारण गरिएको नषेधाज्ञाले तीजको कारोबारका लागि ठेलमठेल हुने असन, इन्द्रचोकका गल्लीहरू पनि यतिबेला सुनसान छन् ।

त्यस्तै तीजको सिजनमा परेको कोरोनाको असर प्रत्यक्ष रुपमा तीज गीत र तीज गीतसँग सम्बन्धित कलाकर्मीमा पनि परेको छ । अवस्था सामान्य हुँदा तीजको सिजनमा कलाकारहरु महिनौँदेखि रेकर्डिङ र शुटिङमा व्यस्त हुन्थे । एउटै सिजनमा सयौँ तीजका गीतहरु रिलिज हुन्थे भने कलाकारहरुलाई देश विदेशका कार्यक्रमहरुमा प्रस्तुती दिन भ्याईनभ्याई हुन्थ्यो । तर कोरोनाको कारण यसपाली अघिल्ला वर्षका तुलनामा कमै मात्र तीजका गीतहरु बजारमा आए । हरेक वर्षको तीजमा गीत सार्वजनिक गर्ने कतिपय कलाकारहरुले पनि यसपालीको प्रतिकुल अवस्थाका कारण गीत बनाउन सकेनन् भने बनाउनेहरुले पनि सिमित स्रोतसाधन र म्यानपावरमै चित्त बुझाउनु प¥यो ।

यस सम्बन्धमा लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष रमेश बिजी तुलनात्मक रुपमा पहिलेको वर्षहरुमा भन्दा कम तीज गीतहरु बजारमा आए पनि यसपाली बढी घाटा व्यहोर्नु परेको बताउँछन् । पहिलेका तीजमा जतिवटा नै गीत सार्वजनिक गरे पनि उक्त गीतको लागत कलाकर्मीहरुले विभिन्न स्टेज कार्यक्रम लगायतबाट सन्तुलनमा ल्याउने गर्थे । तर गीत जति नै हिट भए पनि युट्युबको मात्र भर पर्नु परेकोले यसवर्ष धेरै कलाकर्मीहरु घाटामा रहेको उनको विश्लेषण छ ।

कोरोनाले जुन असर तीजमा पारेको छ त्यो सर्वसाधारणका लागि मात्र भने पक्कै होइन । यो असर तीज मनाउने सेलिब्रेटीहरुमा पनि परेको छ । गत वर्ष मात्र विवाह बन्धनमा बाँधिएका अभिनेत्रीहरु प्रियंका कार्की, ऋचा शर्मा आंचल शर्मा लगायत पनि कोरोना कहरका कारण विवाह पछिको आफ्नो पहिलो तीज साधारण तौरतरिकाबाट घरमै बसेर मनाउने बताउँछन् ।

हरेक वर्ष पार्टी प्यालेस बुक गरेर सेलिब्रेटी र अन्य महिलाहरूलाई आफ्नो तीज गीतको भिडियोमा नचाउने गायिका मञ्जु पौडेलले यसपाली २–४ जना साथीहरु मात्र राखेर साधारण तवरमा तीज गीतको भिडियो बनाईन् । तीज आउनु अगाडि देखी तीज सकेपछिसम्म पनि स्टेज शोहरुमा निकै व्यस्त हुने उनी यसपालीको तीजमा उनी फुर्सद नै छिन् । अब, यो वर्षको तीज उनी घरमै आमासँगै बसेर मनाउँदैछिन् ।

त्यस्तै विगतका थुप्रै वर्षदेखि लगातार तीजमा आफ्नो एकल प्रस्तुती पस्कदै आएकी गायिका सुनिता दुलालले यसपाली भने आफ्नो उक्त रेकर्ड तोड्नु परेको छ । कोरोना महामारीको कारण विश्व समुदायनै विसम परिस्थितीबाट गुज्रिरहेकाले आफूले यसपाली एकल तीज गीत दर्शकमाझ पस्कन सकिनन् ।

यो समय नेपालको लागि मात्र नभई पुरै विश्वको लागि निकै कठिन बनेको छ । पछिल्लो समय नेपालमा हरेक दिन पाँच सय भन्दा बढी कोरोना संक्रमित भेटिन थालेको छ भने हालसम्मको संक्रमितको संख्या २४ हजार भन्दा माथि पुगिसकेको छ । यस्तो अवस्थामा सरकारले सजग हुन आह्वान नगरेकै भएपनि आफू–आफू नै सजग हुनु जरुरी छ । चार जात छत्तिस वर्णको साझा फूलबारी नेपालमा हरेक महिना नै कुनै न कुनै जातको पर्व पर्ने गर्छ । र इतिहासमा नै पहिलोपटक नेपालीहरुले ति पर्वहरु आफ्नो दैलो भित्रै बसेर मनाउन बाध्य भएका छन् । जुन निकै जरुरी पनि छ । तर कोरोना कहरले सबै क्षेत्र ठप्प भयो भन्दैमा परापूर्व कालदेखि मान्दै आएको कुनै पनि पर्वलाई हामीले मान्न छोड्नु पर्छ भन्ने हुँदैन । खाने मुखलाई जुंगाले छेक्दैन भनेझैं हामी घरभित्रै र घरको परिवारसँग बसेर ति पर्वहरुलाई निकै सरल र सहज ढंगबाट मनाउँन सक्छौ ।

संसारमा कुनै पनि कुरा दीर्घकालिन हुँदैन यस अर्थमा कोरोना भाइरसको समयाबधी पनि लामो समय रहिरहन्छ भन्ने छैन । त्यसैले समय र परिस्थिति अनुसार रमाउन सके जीवनमा सुखानुभुत महसुश गर्न सकिन्छ ।

 

Logo