प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन समानुपातिकतर्फको बन्द सूचि सकेसम्म आजै बुझाई सक्न सबै राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दलहरुले आज अपरान्ह ५ बजेभित्र आयोग परिसर भित्र प्रवेश गरी दुवै निर्वाचनको समानुपातिकतर्फको बन्द सूचि बुझाए राम्रो हुने धारणा समेत राखे । आयोग परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले त्यसका लागि आयोगले आवश्यक स्रोत र साधनको कमी हुन नदिने प्रतिवद्धता समेत व्यक्त गरे ।
थपलियाले राजनीतिक दलहरुले आजै सो सूचि बुझाउन नसके भोली (मंगलबार) बिहानसम्म लिनुपर्ने अवस्था पनि आउन सक्ने बताए । गत स्थानीय तह निर्वाचनमा पनि उम्मेदवारी दर्ताका लागि दिइएको समय दलहरुले कटाएको उल्लेख गर्दै अहिले पनि सोही अवस्था आउन सक्ने उनको भनाई थियो ।
उनले भने, ‘विगतको अनुभवलाई हेर्दा त भोली बिहान पनि आजै भईरहने हो कि भन्ने अवस्था हामीले महसुस गरिराखेका छौं । तर, हामी हाम्रो सम्पूर्ण स्रोत, साधन क्षमताले यो चाँही लोकतन्त्रलाई सुदृढिकरण गर्ने निर्वाचनको यो अभियानमा आयोगको तर्फबाट हामी कुनै पनि कमी हुँन दिँदैनौं । आयोग परिसर छिरेका सबै राजनीतिक दलहरुले यही बसेर सबै काम नसकुन्जेलसम्म हाम्रो टिम परिचालन हुन्छ । हामीले आज यति बजेभित्र भनेर तोकिसकेका छैनौं । तैपनि सामान्यतयाः पाँच बजेभित्र उहाँहरुले आईपुगेर सो सबै काम थालेर आज हुँदै सकिदिए हुन्थ्यो भन्ने हाम्रो भनाई छ ।’
निर्वाचन आयोगले यही असोज ९ गते राजनीतिक दलहरुलाई आयोगमा बुझाएको समानुपातिक सूचिमा रहेका नामहरु सच्याउनका लागि पत्राचार गर्ने र १६ गते भित्र सच्याएर ल्याउन समय दिनेछ । त्यसरी सच्याएर आएको नामावली नै अन्तिम नामावली हुने पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए । उनका अनुसार आयोगले ती नामावलीलाई असोज २२ गते सार्वजनिक गर्नेछ ।
‘ऐन, कानुनमा भएको व्यवस्था अनुसार उहाँहरुले पेश गर्नु हुन्छ । त्यसपछि त्यसलाई हामीले हेर्छौ । हेरेर हाम्रो नियमावलीले के भन्छ भने नौं गतेसम्ममा त्यहाँ कुनै नामनै परिवर्तन गर्नुपर्ने भएको छ भने पनि सो समेत गर्न समय दिनुपर्छ भन्ने व्यवस्था भएकाले अव यतिनै आउँछ र यतिनै गर्न सकिन्छ भन्ने कुरा छैन । पहिला हामीले सबै डकुमेन्टहरु हेरेर तपाईहरुको आवश्यक संशोधन, परिमार्जन गरेर त्रुटी सच्याउन तथा संशोधन परिमार्जन गर्न समय दिइनेछ भनेर हामीले त्यही लेखेर समय दिन्छौं ।’ उनले भने, ‘अव १६ गते पछि १६ गतेसम्ममा जे विवरण आउँछ । त्यो विवरणमा चाँही कुनै पनि हालतमा परिवर्तन हुँदैन । त्यसलाई आयोगले २२ गते सूचना जारी गरेर सार्वजनिक गर्छ । त्यो भन्दा अघि हामी हाम्रो गोपनियता कायम राख्छौं । २२ गते बेलुकासम्म सार्वजनिक गर्ने हाम्रो कार्यतालिका छ । त्यो सार्वजनिक गरिसकेपछि त्यो नाम तदनुसारनै प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक तर्फको मतगणना गरिसकेपछि त्यही नामबाट क्रमशः उम्मेदवारहरु चयन हुनेछन ।’
निर्वाचन ऐन, कानुन र आयोगले तय गरेको नियमावलीमा आधारित भएर निर्वाचन सम्बन्धि सबै कामहरु अघि बढाउन प्रतिवद्ध भएर लागि परेको पनि निर्वाचन आयोगले स्पष्ट पारेको छ ।





























प्रतिक्रिया