काठमाडौं ।
वि.सं. २०४५ भदौ ५ गते विहान ५ बजे आजैका दिन पूर्वी नेपालको उदयपुर केन्द्रविन्दु रहेको शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पको मापन ६.६ रेक्टर स्केल रहेको थियो । यो भूकम्पले ४० सेकेण्ड पुरै नेपाल हल्लाएको थियो ।
यसमा ७२१ जनाले ज्यान गुमाएका थिए । शक्तिशाली भूकम्पमा परि ६५ हजार घरहरु ध्वस्त भएका थिए । तत्कालिन श्री ५ को सरकारले भूकम्पले भत्काएका घरहरु पुननिर्माणका लागि पूर्ण क्षति भएका घरहरुलाई १० हजार रुपैंयाँ र आंशिक क्षति भएका घरहरुलाई ५ हजार रुपैंयाँ ऋण सहयोग गरेको थियो । पछि उक्त ऋणलाई अनुदान दिइएको थियो ।
त्यसयता धेरै भूकम्पहरु गए । ०७२ बैशाख १२ गते गएको ७.८ रेक्टर स्केलको भूकम्पमा परि करिव ९ हजार जनाले ज्यान गुमाए भने हजारौं घाइते भएका थिए । त्यसको पराकम्पन अझै पनि गइरहेका छन् । ०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पले ०४५ सालको भूकम्पलाई विर्साइदिएको छ । तर पनि सो भूकम्प नेपालको इतिहासमा धेरै क्षति भएको भूकम्पको रुपमा लेखिएको छ ।
नेपालमा भूकम्पको इतिहास
काठमाडौंदेखि पूर्वको क्षेत्रमा गएका ठूला भुईंचालोमा विसं १९९० को महाभुईंचालो (८.४ रेक्टर), विसं २०४५ को उदयपुर केन्द्रविन्दु रहेको भुईंचालो (६.६ रेक्टर) हुन् भने त्यसपछिका भुईंचालोमा ०६८ असोज १ गते गएको भुईंचालो (६.९ रेक्टर) पनि पर्छ ।
यसबाहेक साना भुईंचालोहरू दिनहुँ गइराखेका हुन्छन् । ०६८ असोज १ गते गएको भुईंचालो विसं २०४५ मा गएको भुईंचालो भन्दा ठूलो हो, तर पनि यसले ०४५ सालको जस्तो ठूलो क्षति पुर्याएको पाइएन । वि.सं. १९९० सालमा गएको महाभुईंचालोबाट नेपालमा मात्र हजारौंले ज्यान गुमाएका थिए ।
त्यसैगरी २०४५ सालमा गएको भुईंचालोबाट ७२१ जना मानिसको ज्यान गएको थियो । ०६८ असोज १ को भुईंचालोबाट नेपालमा ८ जना र भारतमा ५० भन्दा बढीको ज्यान गएको थियो ।
भूकम्पीय इतिहास अनुसार नेपालमा हरेक ७० देखि १ सय वर्षमा एक महाभुईंचालो र हरेक ५० वर्षमा मध्यमखालको भुईंचालो जाने गरेको पाइन्छ । नेपालमा वि.सं १२८०, १३१२, १४०१, १७७१, १८३४, १८६५, १८८२, १८९०, १८९१, १९१४, १९२३, १९३८, १९९०, २०३७, २०४५, २०६८ र २०७२ सालमा ठूला भुईंचालो गएको इतिहास छ।
२ माघ १९९० मा संखुवासभा जिल्लाको चैनपुर केन्द्र भएर गएको भुईंचालो ८.४ रेक्टर स्केलको थियो । हालसम्म सबैभन्दा विनाशकारी भनेर यसै महाभुईंचालोलाई लिइन्छ । सो भुईंचालोमा परी नेपालमा मात्र तीन हजार आठ सय ५० पुरुष र चार हजार ६६९ महिला गरी जम्मा ८ हजार ५ सय १९ जनाको ज्यान गएको थियो । घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत दुई लाख सात हजार ४० वटा संरचना भत्किएको अभिलेख छ ।
भदौ ५, २०४५ को बिहान पाँच बजे ६.६ रेक्टर स्केलको भुइचालो गएको थियो । यसबाट पूर्वी र मध्य नेपालमा धेरै क्षति भएको थियो । २०७२ बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७.८ रेक्टर स्केलको भुईंचालो उत्तिकै विनासकारी सावित भयो । यो भुईंचालोपछी धेरै दिनसम्म सानासाना पराकम्प गइरहेका छन् ।
अझै पनि नेपालमा भूकम्प जान सक्नेछ । विशेषगरि पश्चिम नेपालमा यस अघि त्यति विनासकारी भूकम्प नगएकाले अब त्यस ठाउँमा ठूलो भूकम्प जान सक्ने विज्ञहरुले अनुमान गरेका छन् । यद्यपी प्राकृतिक प्रकोप कहाँ र कहिले जान्छ भन्नेमा भने यसै भन्न सकिने अवस्था रहँदैन ।































प्रतिक्रिया