कस्मेटिक व्यवसायी संघका उपाध्यक्ष खकुरेलले काठमाडौं ८ (ख)बाट उम्मेदवारी दिने

कस्मेटिक व्यवसायी संघका उपाध्यक्ष खकुरेलले काठमाडौं ८ (ख)बाट उम्मेदवारी दिने

केन्द्रबिन्दु
0
Shares

नेपाल कस्मेटिक संघका उपाध्यक्ष मच्छिन्द्र खकुरेलले आगामी ४ मंसिरमा हुने निर्वाचनमा बाग्मती प्रदेशअन्तर्गत काठमाडौं -८ (ख) बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

अहिलेसम्म कुनै पनि दलले मुलुकको हित हुने गरी परिवर्तनको पक्षमा काम गर्न नसकेको दावी गर्दै अबको नेतृत्व राम्रो भिजन भएका व्यक्तिले लिनुपर्ने स्थितिलाई विचार गर्दै आफूले स्वतन्त्र उम्मेदवारी दिन लागेको उनले बताए । ‘नेपाली जनतामा खुसी, शान्ति र दिगो समृद्धिका बहुआयामिक पक्षलाई व्यवस्थित तवरले अघि बढाउने मान्यतासहित प्रदेश सभामा उम्मेदवारी दिन लागेको हुँ,’ खकुरेलले भने ।

संघ र स्थानीय तह बढी प्रभावकारी भए पनि प्रदेश सरकारले जनताको मन जित्ने गरी प्रभावकारी तवरले काम गर्न नसकेकाले अहिले प्रदेश सरकारको औचित्यलाई लिएर विभिन्न टीकाटिप्पणी हुने गरेको उनको भनाइ छ । 

बाग्मती प्रदेशमा भएको विकासको सन्देश सिंगा देशभर प्रवाह हुने कारणले समेत बाग्मती प्रदेशलाई सबैभन्दा पहिले समृद्ध प्रदेशको रुपमा विकास गर्नुपर्ने आवश्यकता रहेको खकुरेल बताउँछन् । बाग्मती प्रदेशको औद्योगीकरण, व्यापक रोजगारी सृजना, दिगो विकास एवं उद्यमशीलता, जागरणलगायतका विभिन्न क्षेत्रमा हुने कामलाई छिटो र झण्झटमुक्त तवरले कानुनी दायरामा रही सम्पादन गर्न एवं अन्य सम्बन्धित निकायमा पनि आवश्यक दबाब सृजना गर्न आफूले उम्मेदवारी घोषणा गरेको उनले बताए । 

२०६२ मा पर्यटन क्षेत्रमा जोडिएका खकुरेल हाल कस्मेटिक व्यवसायमा संलग्न छन् । निकट भविष्यमा स्वदेशी जडिबुटीमा आधारित गुणस्तरीय कस्मेटिक सामग्री उत्पादन गर्ने उद्योग सञ्चालनको योजनामा आफू रहेको खकुरेलले बताए ।

Logo