निषेधाज्ञाको मारमा बैंकका सिइओ र कर्मचारी (भिडियाे)

निषेधाज्ञाको मारमा बैंकका सिइओ र कर्मचारी (भिडियाे)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अत्यावश्यकीय बैंकिङ क्षेत्रका कर्मचारीलाई प्रहरीले रोक्ने, पक्राउ गर्ने गरेपछि अहिले अधिकांश बैंकका शाखाहरु बन्द भएका छन् ।

सहमति विपरित प्रहरीले बैंकका कर्मचारीलाई रोकेपछि काठमाडौं उपत्यकामा सबै बैंकका शाखाहरु बन्द भएका हुन् । बुधबार राति १२ बजेबाट सुरु भएको निषेधाज्ञामा अत्यावश्यकीय सेवाभित्र पर्ने बैंक तथा वित्तीय संस्था सीमित खोल्न दिने गरी मंगलबार साँझ स्थानीय प्रशासन, राष्ट्र बैंक र बैंकहरुबीच सहमति भएको भए पनि सहमति विपरित प्रहरीले बैंकका कर्मचारीलाई धरपकड गरेपछि बैंकका सबै शाखाहरु बन्द भएका छन् । ‘स्थानीय प्रशासनसँग हाम्रो सहमति भएको थियो, तर उहाँहरुले हाम्रा कर्मचारीलाई पक्राउ गर्नु भएछ ।’ बैंकर्स संघका अध्यक्ष भुवन दाहालले भने ।

प्रहरीले पक्राउ गरेपछि बैंकका कर्मचारीलाई छुटाउँदै घर पठाउँदै गरेको उनले बताए । प्रहरीले बैंकका कर्मचारीलाई पक्राउ गरेर कतिलाई थुन्ने त कतिलाई पिटेको समेत उनले बताए । ‘कोहीले कुटाइ खाए, कोही थुनिए भन्ने कुरा आएको छ ।’ अध्यक्ष दाहालले भने । नेपाल राष्ट्र बैंकले सकेसम्म डिजिटल कारोबार गर्न एटिएममा प्रशस्त पैसा राख्नु भनेको थियो । तर एटिएममा पैसा राख्न जान पनि नदिएपछि सेवाग्राहीलाई समस्या परेको उनको भनाइ छ । राष्ट्र बैंक र प्रहरीबीच सहमति भएपछि बैंकहरुले सीमित शाखाहरु मात्रै खोल्ने निर्णय गरेका थियो । बैंकले ६ देखि ८ वटा शाखाहरु खोल्ने निर्णय गरेका थिए । तर प्रहरीले बिहिबार एकाबिहानै बैंकका कर्मचारीलाई रोकेपछि बैंकिङ सेवा प्रभावित भएको हो ।

प्रहरीले कतिपय बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरु लाई पनि बाटोमै रोकेको छ । यस्तो अवस्थामा बैंक खोल्न सम्भव नभएकाले बन्द गर्न बाध्य भएको दाहालले बताए । ‘बैंक हामीले बन्द गरेको होइन, बाध्यताले बन्द गर्नु परेको छ ।’ अध्यक्ष दाहालले भने । त्यस्तै, संघका पूर्वअध्यक्ष ज्ञानेन्द्र ढुंगानाले प्रहरीले बैंक खोल्नै नदिएकाले बन्द गर्न बाध्य भएको बताए ।

बैंक तथा वित्तीय संस्थाका सिमित कर्मचारीलाई सम्बन्धी संस्थाको परिचय पत्रका आधारमा छोड्ने आदेश दिएको भए पनि बिहान केही स्थानमा समस्या आए पनि अहिले समस्या नरहेको काठमाडौँ प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । भोलिदेखि बैंकका कर्मचारीहरु निर्वाद रुपमा आवतजावत गर्न दिइने प्रमुख जिल्ला अधिकारी दाहालको भनाइ थियो ।

Logo