पार्टी संस्थापन पक्षले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारी चयनमा एकलौटी गरेको भन्दै नेता शेखर कोइराला पक्षले आपत्ति जनाएको छ । शनिबार काठमाडौंमा खवरदारी सभाको आयोजना गरी कोइराला पक्षका नेताहरुले सो निर्णय नसच्याएपछि पार्टी भित्र विद्रोह गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।
सभाका बोल्दै नेता गुरु घिमिरेले पार्टीमा सबैलाई न्याय हुनेगरी आगामी निर्वाचनको टिकट वितरण नभए आफूहरु विद्रोह गर्न बाध्य हुने चेतावनी दिए । उनले समानुपातिकतर्फको टिकट वितरणको सूचि तत्काल सच्याउन पनि पार्टीका सभापति शेरबहादुर देउवालाई दवाव दिए ।
उनले भने, ‘म हाम्रै समूहका पदाधिकारीहरुलाई दह्रो खुट्टा टेकेर न्यायको पक्षमा बोल्न आग्रह गर्दछु । नभए तपाईहरुलाई पनि राम्रो हुनैछैन । पार्टीमा सबैलाई न्याय हुने गरी सभापतिजीले टिकट वितरणमा गरेका निर्णय सच्याउनु भएन भने पार्टी भित्र विद्रोह हुन्छ ।’
नेता घिमिरेले आफ्नो समूहका पदाधिकारीहरुलाई संस्थापन पक्षले अन्याय गर्दा पनि टुलुटुलु हेरर बस्ने काम नगर्न सचेत गराए ।
अर्का नेता भुपेन्द्रजंग शाहीले आगामी निर्वाचनको टिकट वितरणमा पार्टी भित्र न्याय नभए विद्रोह गरेर अघि बढने चेतावनी दिए । उनले पार्टीले टिकट नदिएपनि आफू कालिकोटमा प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा समेत गरे । उनले भने ‘निर्वाचनमा टिकट पाईन भने पनि कालिकोटमा निर्वाचन लड्छु । तर, नेताको दास भएर बसिदैन । टिकटमा न्याय नभए विद्रोह हुन्छ ।’
नेता बद्रीनरसिंह केसीले समानुपातिकतर्फको निर्वाचनको सूचि पार्टी सभापति शेरबहादुर देउवाले आगामी असोज १६ गतेसम्म नसच्याए आफूहरु विदोह गरेर अघि बढ्न बाध्य हुने बताए । सभापति देउवाले निर्वाचनको टिकट वितरणमा एकलौटी निर्णय लिने कामलाई अघि बढाएको भन्दै उनले आपत्ति जनाए । ‘हामीलाई न्याय हुनु प-यो । सभापति शेरबहादुर देउवा एउटा गुटको मात्रै नेता भएको देखियो । समानुपातिक तर्फको टिकट दिने काममा एकलौटी गरियो । १६ गतेसम्म त्यो नसच्चिए त्यसको विकल्पमा हामी अगाडि बढ्छौं ।’ उनले भने ।





























प्रतिक्रिया