युरोपको समृद्धि र प्रविधि नेपालमा भित्र्याउन वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

युरोपको समृद्धि र प्रविधि नेपालमा भित्र्याउन वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले युरोपमा रहेका गैरआवासीय नेपालीहरूलाई युरोपको समृद्धि, ज्ञान र प्रविधि नेपाल भित्र्याउन आग्रह गरेका छन् । 

स्वीडेनमा आज आयोजित गैरआवासीय नेपाली सङ्घ एनआरएनको युरोप क्षेत्रीय १४औँ बैठकलाई सम्बोधन गर्दै उनले युरोपमा रहेका सबै नेपालीहरुलाई त्यहाँ आर्जन गरेको समृद्धि नेपाल भित्र्याउन तथा युरोपका उद्योगी व्यवसायीहरुलाई नेपालमा लगानीका लागि प्रेरित गर्न आग्रह गरेका हुन् ।  

“युरोप होस् या संसारका विभिन्न देशमा नेपालीहरु ज्ञान, सीप, पूँजी र प्रविधि आर्जनका लागि रहने गरेका छन्, आफ्ना यी आर्जनहरुलाई नेपाल भित्र्याउँ, हाम्रो देशको समृद्धि पनि धेरै टाढा छैन ।” उनले भनेका छन् । 

कतिपय एनआरएन एवं लगानीकर्ताहरुले नेपालमा लगानीको वातावरण छैन भन्ने गरेको प्रसङ्ग उल्लेख गर्दै उनले भने, “नेपालमा लगानीको वातावरण नभएको होइन, निजी क्षेत्रको साझा संस्था नेपाल उद्योग वाणिज्य महासङ्घले पनि आवश्यकता अनुसार  सहजीकरण गर्नेछ, नेपालका लगानीको यो उचित समय पनि हो, त्यसैले नेपालमा लगानीका लागि म सबै एनआरएका साथीहरुलाई आग्रह गर्दछु ।”

अहिले आफूले आर्जन गरेको पूँजी स्वदेशका लागि र हाम्रै सन्ततिका लागि नेपालमै लगानी गर्नुपर्ने उनको आग्रह थियो । 

आफूहरु एनआरएनसँगको संयुक्त लगानीमा काम गर्न इच्छुक रहेको बताउँदै वरिष्ठ उपाध्यक्ष ढकालले २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत आयोजना यस्तै संयुक्त लगानीबाट सफल भई विद्युत उत्पादन हुन थालिसकेको बताए । 

नेपालका विशेषगरी अहिले जलविद्युत, पर्यटन र पूर्वाधारका क्षेत्रमा लगानी गरेर प्रतिफल लिन सकिने बताउँदै उनले नेपालमा लगानीका यस्ता कैयौँ सम्भावना रहेकाले यसबाट लाभ उठाउन विभिन्न उदाहरण पनि पेस गरेकाे एनआरएन युरोप समितिले जनाएको छ । 

Logo