विश्व बैंक समूहको सदस्य आईएफसीले ग्रीन ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जीटीएफपी) अन्तर्गत नेपालको सबैभन्दा ठूलो वाणिज्य बैंक ग्लोबल आइएमई बैंक लिमिटेडलाई क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा विस्तार गरेको छ । यो आईएफसीको विश्वमै पहिलो ग्रीन ट्रेड फाइनान्स लाइन हो ।
बुधबार आयोजित एक कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आईएफसीका दक्षिण एशिया क्षेत्रीय प्रबन्धक जुन योङ्ग पार्कले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
बैंकका अनुसार यो कार्यक्रम नेपाल जस्तो विकासशील अर्थतन्त्रहरूमा अन्तर्राष्ट्रिय व्यापार प्रर्वधन तथा ट्रेड फाइनान्स लिमिट पूर्ती गर्ने उद्देश्यले ल्याइएको हो । यस परियोजनाले ग्लोबल आइएमई बैंकलाई बैंकको बढ्दो व्यापार व्यवसायमा माग र आपूर्तिबीचको अन्तरलाई सम्बोधन गर्न मद्दत गर्नेछ ।
यस कार्यक्रममा रहेको ‘हरित’ कम्पोनेन्ट बैंकको लागि जलवायु अनुकूल व्यापार व्यवसायको लागि बलियो आधार हो र यसले जलवायु परिवर्तनको असर लाई समेत सम्बोधन गर्दछ । यो कार्यक्रमले ग्लोबल आइएमई बैंक र यसका ग्राहकहरूको लागि ट्रेड फाइनान्समा पहुँच सुधार गर्ने अपेक्षा गरिएको बैंकले जनाएको छ ।
यस कार्यक्रमले ग्लोबल ट्रेड फाइनान्स, अन्तर्राष्ट्रिय वित्तीय सम्बन्ध र अन्तर्राष्ट्रिय बजारमा व्यापार विस्तार गर्न सहजीकरण गर्नेछ । साथै, यसले द्विपक्षीय करेस्पोन्डेन्ट बैंकिङ्ग सम्बन्धलाई बलियो र सक्षम बनाउँदै स्थानीय र अन्तर्राष्ट्रिय बैंक तथा तिनीहरुका ग्राहकहरुबीच नयाँ सम्बन्धहरु विस्तार गर्न सहयोग गर्नेछ ।
कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले यो कार्यक्रम नेपालमा जलवायु अनुकूल व्यवसाय विस्तारका लागि सहयोगी बन्ने बताएका छन् । उनले ग्लोबल आइएमई बैंकलाई विश्वमै पहिलो पटक जलवायु अनुकूल व्यापार व्यवसायको लागि लगानी सुविधा प्रदान गरेकोमा आईएफसीलाई धन्यवाद समेत व्यक्त गरे ।
साथै बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले आईएफसीको जीटीएफपी लाइनले ग्लोबल आइएमई बैंकलाई अझ राम्रो क्षमताका साथ थप अन्तर्राष्ट्रिय बैंकहरूसँग सम्बन्ध विस्तार गर्न सहयोग गर्ने बताएका छन् । बैंकलाई आफ्ना विभिन्न भौगोलिक क्षेत्रमा रहेका ग्राहकहरूका लागि थप कारोबार गर्न मद्दत गर्ने उनको विश्वास छ ।
बाबाकर एस फाये नेपालका लागि आईएफसीका आवासीय प्रतिनिधिले भने टीएफपीको सहयोगले बैंकको कर्जा माग र आपूर्तिको खाडललाई सम्बोधन गर्न मद्दत गर्ने बताएका छन् । उनले भने, “यो कार्यक्रमले नेपालको वित्तीय अभावलाई सम्बोधन गर्नुकासाथै ऊर्जा मितव्ययी प्रविधि, सञ्चालनको दिगोपन र कार्बन उत्सर्जनलाई कटौति गरेर जलवायु परिवर्तनको असर कम गर्नमा केन्द्रित रहेको छ ।”
ग्लोबल आइएमई बैंक र आईएफसीबीच यो दोस्रो साझेदारी हो । सन् २०१९ मा आईएफसीले बैंकलाई साना तथा मझौला व्यवसायमा लगानी गर्नको लागि २० मिलियन अमेरिकी डलर लगानी गरेको थियो ।





























प्रतिक्रिया