सिंहदरबारको भवन हेर्दै तिमिल्सिनाले भने- ‘मेरो अहिलेकाे आँखाले चैतमै सकिन्छ जस्तो त लाग्दैन’

सिंहदरबारको भवन हेर्दै तिमिल्सिनाले भने- ‘मेरो अहिलेकाे आँखाले चैतमै सकिन्छ जस्तो त लाग्दैन’

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्माणाधिन संघीय संसद भवन निर्माणको काम निर्धारित समयमै सक्न निर्देशन दिएका छन् । 

शुक्रवार सिंहदरबारस्थित निर्माणाधिन संघीय संसद भवनको अवलोकन गर्दै अध्यक्ष तिमिल्सिनाले निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका हुन् । उनले संसद भवन सँगसँगै अन्य संरचनाको निर्माण कार्यपनि सँगै अघि बढाउन आग्रह गरे । 

अध्यक्ष तिमिल्सिनाले समयमै काम सक्नका लागि आवश्यक जनशक्ति थप गर्नुपर्ने भएमा थप गरेर भएपनि काम अघि बढाउन निर्देशन दिए । त्यस्तै भवन निर्माणको दोस्रो चरणको कामका लागि टेन्डर आह्वान पनि तुरुन्त गर्नुपर्ने उनले बताए । 

‘समस्या हुँदैन पैसाको कारणले । दिन रात काम गर्ने । सँगसँगै एकसाथ लाग्न मिल्ने जति लागौँ । सक्दो छिटो अब फेरि ६ महिनापछि थप्नु नपर्नेगरी यो काम सक्नेतिर लाग्नुस् । बरु त्यसमा कति म्यानपावर थप्नुपर्छ, के–के थप्नुपर्ने हो त्यो कुरामा जोड गर्न लगाउनुस् । सेकेण्ड फेजको लागि छिटो गरीकन टेन्डरमा लानुप-यो ।’ उनले भने, ‘समय बढ्दा लागत पनि बढ्छ अनि उतातिर चाहीँ भाडा पनि तिरिरहनुपर्ने । संसदीय दलका कार्यालयहरु, समितिका कार्यालयहरुको भित्रको बाँकी रहेपनि दुईवटा हाउसलाई अलि जोड गरेर गर्नु । हाउस मात्रै चल्यो भनेपनि हामी बानेश्वर जानु परेन नि । त्यो छिटो शुरु होस् । अब एक वर्षपछि हाउस यहाँ चलाउने गरी लाग्नुस् ।’ 

अध्यक्ष तिमिल्सिनाले कुनैपनि देशको विकासको गति निर्माण आयोजनाको काममा मापन हुने भन्दै विकास निर्माणको काममा तिब्रता दिनुपर्ने बताए । 

‘चैत्र मसान्तसम्ममा मेरो अहिलेको आँखाले त सक्किइहाल्छ जस्तो लाग्दैन । तर सक्नुपर्छ । अब २४ घण्टा तीन फेजमा काम गरेर भएपनि यो काम अगाडी बढाउनुस् । सबै ठाउँमा काम लगाउनुप-यो । निर्माण आयोजना समयमा सक्नु विकासको सूचक हो । देशका कुनैपनि आयोजना कति छिटो सक्यो, कसरी भइराखेको छ भन्नेकुरा देशको विकासको गति के छ भन्ने बुझ्ने हो ।’ उनले भने, ‘सिंहदरबारभित्रको आयोजना त यति पछि पर्छ भने बाहिरका के होला भनेर अनुमान गर्न सकिन्छ नि । अनि हामीले देशको प्रगति, समृद्धिको लक्ष्य कसरी पूरा गर्न सक्छौँ ? त्यसकारण सबै पक्ष गम्भिर हुनुप-यो । सरकारको तर्फबाट बजेट पर्याप्तता र सुनिश्चितता हुनुप-यो । प्राविधिक हिसावले गर्नुपर्ने जे–जे कामहरु छ, त्यो समयमा सम्पन्न गरेर मिनेट पनि ढिला नहुने गरेर गर्नुप-यो ।’

कुल ५ अर्ब २ करोड रुपैयाँमा वि.सं.२०७६ असोज १६ गते संघीय संसद भवन निर्माण कार्यको सम्झौता भएको थियो । ३ वर्षको लागि सम्झौता भएर २०७९ असोजमा सक्नुपर्ने भएपनि कोभिडका कारण ६ महिना समय थप भएको हो । निर्माण कार्य २०७९ चैत्र ३० गतेसम्म सम्पन्न गरिसक्नुपर्ने भएको छ ।  

 

Skip This
Skip This
Logo