निर्वाचन आयोगले सामाजिक सञ्जालमार्फत निर्वाचन आचारसंहिता विपरितका काम भए/नभएको सम्बन्धमा अनुगमन गर्ने भएको छ । आयोगले सामाजिक सञ्जाल र डिजिटल मिडियाहरुको अनुगमन गर्ने उद्देश्य राखेर प्रेस अफिसको स्थापना गरेको हो ।
शुक्रवार प्रेस अफिसको उद्घाटन गर्दै निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले सो अफिसले सञ्चारमाध्यमको व्यवस्थापन, सहजीकरण तथा सूचना सम्प्रेषणसम्बन्धी विभिन्न कामहरु गर्ने बताए । साथै निर्वाचन सँग सम्बन्धित कुराहरुको उत्पादन गर्दै डिजिटल माध्यम र आमसञ्चार माध्यमबाट सम्प्रेषण गरिने पनि उनले उल्लेख गरे ।
‘पहिलो काम भनेर हामीले सञ्चार माध्यमको व्यवस्थापन, सहजीकरण तथा सूचना सम्प्रेषणसम्बन्धी विभिन्न कामहरु गर्ने भनेर भनिएको छ । कतिकुरा अन्तर्वार्ता गर्ने, प्रेस सम्मेलन गर्नुप-यो भनेपनि कुनकुन विषयमा गर्ने ? अनि कुन कुनमा कोको उपस्थित हुने भन्ने सम्मको व्यवस्थापन यसले गर्छ । दोस्रो, सामाजिक सञ्जालमा सम्प्रेषण गरिने सामग्रीहरुको उत्पादन र सम्प्रेषण गर्ने । प्रचारप्रसार डिजिटल माध्यमबाट, आमसञ्चार माध्यमबाट गर्ने भनेका छौँ ।’ उनले भने, ‘तेस्रो, सामाजिक सञ्जाल र डिजिटल मिडियाको केही अनुगमन सम्बन्धी कामहरु गर्छौं र सामाजिक सञ्जालको अनुगमन प्रभावकारी ढंगले अन्य निकायहरुबाट नभएको जस्तो मिडियाको अनुगमन प्रेस काउन्सिलबाट हुन्छ । तर सामाजिक सञ्जालको अनुगमन कहाँबाट कसरी हुन्छ ? भन्ने सन्दर्भमा आयोग आफैँ खट्नुपर्ने अवस्था छ । हामीले निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति बनाएका छौँ ।’
उनले थपे, ‘रणनीति पनि तयार गरेका छौँ । विशेष गरेर आचारसंहिता विपरित कुनैपनि क्रियाकलाप, कुनैपनि उम्मेदवार अथवा राजनीतिक दलबाट भइराखेका छन् कि छैनन्, विभिन्न किसिमका राजनीतिक विज्ञापनहरु पनि हुनसक्छन् । त्यो कति भइराखेको छ ? भन्ने विषय पनि हामीले यसको माध्यमबाट हेर्छौं । चौथो, सञ्चारमाध्यमहरुमा के–कस्ता सामग्रीहरु गइराखेका छन् ? कसरी प्रकाशन, प्रशारण भइराखेका छन् ? त्यहाँ नागरिकहरुको समान पहुँच पुगेको छ कि छैन ? लगायतका विषयवस्तु हेर्नुको अतिरिक्त राजनीतिक दलहरुबाट, उम्मेदवारहरुबाट हुने सूचना पनि कसरी प्रकाशन भइराखेको छ ? सबै उम्मेदवारलाई समान किसिमको अवसर, पहुँच दिनुहोस् भनेर हामी सञ्चार माध्यमलाई पनि भन्छौँ । त्यो स्थिति छ कि छैन भनेर हेर्ने काम गर्छौ ।’
आयोगले हरेक दिनको गतिविधि समेटेर साँझ ६ बजेभित्र ईबुलेटिन प्रकाशन गर्ने पनि प्रमुख आयुक्त थपलियाले जानकारी दिए । उनले आयोगमा प्रवक्तासँगै थप ३ जना सहायक प्रवक्ता पनि बनाएको र विषयवस्तु हेरेर सहायक प्रवक्ताहरुसँग पनि सूचना लिन सकिने बताए । प्रेस अफिसमा आयोगका प्रवक्ताको नेतृत्वमा २७ जना विभिन्न क्षेत्रका कर्मचारीहरु रहने उनले उल्लेख गरे । उनले ३ जना विभिन्न क्षेत्रका विज्ञहरुलाई पनि नियुक्त गरिएको जानकारी दिए ।
प्रमुख आयुक्त थपलियाले आयोगले आमसञ्चार माध्यमहरुको अनुगमन नगर्ने पनि स्पष्ट पारे । आयोगले आमसञ्चार माध्यमको अनुगमन गर्ने धृष्टता कहिल्यै नगर्ने उनको भनाइ छ । उनले कस्ता विषयवस्तुहरु गइराखेका छन् र सो विषयवस्तुहरुले निर्वाचन व्यवस्थापनमा कत्तिको सहजीकरण भएको छ भन्नका लागि आन्तरिक रुपमा विश्लेषण गर्ने उनले स्पष्ट पारे ।
उनले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नको निम्ति आमसञ्चार माध्यमको अत्यन्त महत्वपूर्ण भुमिका रहने भन्दै पत्रकार आचारसंहिता २०७३ का प्रावधानहरुलाई निर्वाचनमा प्रयोग गर्न आग्रह पनि गरे ।





























प्रतिक्रिया