नेपाल विद्यार्थी संघले स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ ज्ञापनपत्र बुझाएको छ ।
शनिवार मन्त्री क्वार्टरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री खापुङलाई भेटेर उनीहरुले डेंगु नियन्त्रणप्रति सरकार गम्भीर बन्न ध्यानाकर्षण गराएका हुन् । उनीहरुले नागरिकको स्वास्थ्यप्रति सरकारले चासो र चिन्ता लिनुपर्ने बताए ।
उनीहरुले सरकारले डेंगु नियन्त्रणको लागि यथाशीघ्र डेंगु उपचारको मुख्य औषधि प्यारा सिटामोलको उचित व्यवस्थापन गर्न, अस्पतालमा पर्याप्त शैय्या उपलब्ध गराउनुपर्ने, उपचार निःशुल्क हुनुपर्ने, डेंगु परीक्षणको किटको अभाव भएकाले उक्त किटको व्यवस्थापन र परीक्षण निःशुल्क हुनुपर्ने, राज्यले जनचेतनामुलक कार्यक्रम गर्नुपर्ने, डेंगुलाई सरकारले चाँडो भन्दा चाँडो डेंगु प्रकोप घोषणा गरी राज्यका सबै संयन्त्र रोकथाममा लाग्नुपर्ने लगायतका माग राखेको छ ।
ज्ञापनपत्र बुझ्दै स्वास्थ्यमन्त्री खापुङले डेंगु रोकथामको लागि सरकार लागिरहेको बताए । उनले सरकार अहिले खोज र नष्ट गर भन्ने अभियान सञ्चालन गरेर लामखुट्टेलाई नष्ट गर्ने काममा लागेको बताए । उनले प्रत्येक शनिवार १० बजे १० मिनट खोज र नष्ट गर भन्ने अभियान चलाएको र सरकारले पानी जमेका ठाउँहरु र फोहोर भएका ठाउँहरु नष्ट गर्ने काममा लागेको बताउनु भयो ।
मन्त्री खापुङले काठमाडौंमा महानगरलाई यसको जिम्मा दिएपनि अपेक्षा अनुसार काम नभएको जस्तो पाइएको बताए । उनले आफूलाई प्राप्त रिपोर्ट अनुसार बजारमा औषधि अभाव नरहेको दाबी गरे । शंकटकाल घोषणा गरिसक्नुपर्ने तहमा डेंगुको महामारी नपुगेको बताए ।
त्यस्तै नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले सरकार छ भन्ने अनुभुति जनताले गर्ने गरेर सरकारले काम गर्नुपर्ने बताए। उनले डेंगुको महामारी अहिले बढीरहेकोले सरकारले जनतालाई सरकार छ भन्ने अनुभुति दिलाउन नसकेको बताए । डेंगुको उपचार भइरहेको अस्पतालहरुमा डेंगु सम्बन्धी सम्पूर्ण उपचार निःशुल्क हुनुपर्ने उनको भनाई छ ।
शेर्पाले जनतालाई प्रत्यक्ष रुपमा सरकार साथमा रहेको छ भन्ने भान दिलाउन संघले सरकारको ध्यानाकर्षण गराएको बताए । उनले सरकार विभिन्न बहानामा डेंगु नियन्त्रणबाट भाग्न नमिल्ने जिकिर गरे ।





























प्रतिक्रिया