पूर्वप्रधानमन्त्री एवं नेपाल समाजावादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन् ।
०६४, ७० र ७४ मा गोरखा २ बाट विजयी गराएकोमा गोरखालीप्रति आभार व्यक्त गर्दै उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आगामी २०७९ मंसीर ४ को प्रतिनिधसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाॅहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु। मेरो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिकालागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका छन् भने केही शुरूभएका आयोजना पूरा हुन बाॅकी छन्। बॅकीरहेका आयोजना पूरा गर्न र ती पूर्वाधारको जगमा अब उत्पादन र रोजगारमुखी योजना र कार्यक्रम ल्याएर ऐतिहासिक गोरखालाई देशकै नमूना विकासको केन्द्र बनाउन म संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहनेछु।’
चुनाव नलड्नु भनेको राजनीति छोड्नु नभएको प्रष्ट पार्दै उनले आगामी दिनमा पनि निरन्तर गोरखाली जनताको घरदैलोमा पुग्ने र सेवामा खटिइरहने बताएका छन् ।
‘२०६५ देखि अहिलेसम्म प्रत्येक महिना गोरखा आउनेजाने र जनताको घरदैलोमा पुग्ने काम गरिराखें र तपाईंहरूबाट धेरै सिक्ने अवसर पाएँ । आगामी दिनमा पनि म निरन्तर तपाईंहरूकै सेवामा रहिरहनेछु।’ उनले भनेका छन्, ‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन! कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्न/भन्न सक्छन्। सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन। तर सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनता/समाजको सेवा गर्ने साधन हो।म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु। पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु।’





























प्रतिक्रिया