बडादशैँको उमङ्ग र उत्साह यतिबेला सबैतिर छ ।
यो पर्व मनाउन सबै आ आफ्नो शक्ति र गच्छेअनुसार चाँजोपाँजो मिलाउन व्यस्त छन् तर कैलालीको चुरे गाउँपालिका क्षेत्रको सडकमा काम गर्ने मजदुर भने दुई वर्षदेखि पाउनुपर्ने ज्याला रकम नपाउँदा दशैँ कसरी मनाउने भन्ने चिन्तामा छन् । चाडपर्वले सबैतिर उत्साह छाइरहँदा आफूहरु ज्यालाका लागि भौतारिनु पर्दा खल्लो महसुस भइरहेको पीडित स्थानीय प्रेम आचार्यले गुनासो गरे ।
खुटिया–दीपायल फास्ट ट्रयाक (द्रुत मार्ग)को हाटखोली सडक खण्डमा काम गरेका झण्डै एक सय ५० मजदुरलाई निर्माण कम्पनीले अहिलेसम्म ज्याला रकम नदिएको पीडित मजदुरले बताएका छन् । मजदुरले दैनिक काम गरेबापत पाउनुपर्ने रु दुई हजारदेखि ५० हजारसम्मको रकम लिन बाँकी रहेको अर्का मजदुर रकिल घर्तीमगरले बताए लामो प्रयासपछि ज्याला नपाएपछि निराश हुँदै कतिपय युवा कामदार कामको खोजीमा भारतको सिमलातर्फ हिँडेका छन् ।
यतिबेला स्याउ टिप्ने मौसम सुरु हुँदा काम पाउने आशामा मजदुर सिमलातर्फ गएको बताइएको छ । ज्याला रकम भुक्तानीमा सहयोग गरिदिन श्रम कार्यालय, वडा कार्यालय र प्रहरी निकायमा पुग्दा पनि आफूहरुको समस्या समाधान हुन नसकेको उनिहरुको गुनासो छ ।
मजदुरका समस्या बारेमा बुझ्न खोज्दा सडक निर्माणको ठेक्का पाएको अनिष्ठा निर्माण कम्पनीका रोशन आचार्यले टेलिफोनको सम्पर्कमा आउन चाहेनन् । खुटिया–दीपायल फास्ट ट्रयाकको निर्माणको काम सङ्घीय सरकारको सडक विभाग मातहतको निकायबाट भइरहेको छ ।





























प्रतिक्रिया