मोटरसाइकलमा स्टन्ट गरेपछि रास्वपा सांसद गुप्तालाई ५ सय रुपैयाँ जरिवाना

मोटरसाइकलमा स्टन्ट गरेपछि रास्वपा सांसद गुप्तालाई ५ सय रुपैयाँ जरिवाना

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्वमन्त्री बब्लु गुप्तालाई ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिवाना गरेको छ।

चलिरहेको मोटरसाइकलको पछाडिको भागमा उभिएर यात्रा गरेको दृश्य सामाजिक सञ्जालमा व्यापकरूपमा फैलिएको थियो। उक्त भिडियो सार्वजनिक भएपछि सडक सुरक्षासम्बन्धी नियमको अवहेलना गरेको भन्दै उनको आलोचना भएको हो।

सिरहा–१ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद गुप्ताको उक्त भिडियो भाइरल बनेपछि ट्राफिक प्रहरीले घटनाबारे आवश्यक कारबाही गर्दै प्रचलित कानुनअनुसार पाँच सय रुपैयाँ जरिवाना गरेको हो।

विवाद बढ्दै गएपछि सांसद गुप्ताले सामाजिक सञ्जालमार्फत सार्वजनिकरूपमा आफ्नो व्यवहारप्रति आत्मालोचना गरेका छन्। बाल्यकाल बिताएको स्थानमा पुगेपछि पुराना सम्झनाले भावुक बनाएको र त्यही उत्साहका क्रममा मोटरसाइकलको पछाडि उभिएर भिडियो खिच्दा ट्राफिक नियम उल्लङ्घन भएको आफूले पछि महसुस गरेको उनले उल्लेख गरेका छन्।

उनले आफ्नो गल्ती स्वीकार गर्दै भविष्यमा यस्तो कार्य नदोहोऱ्याउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। आफूमा रहेको ऊर्जा र उत्साहलाई अब देश र जनताको सेवामा केन्द्रित गर्ने बताउँदै जानी वा नजानी भएको गल्तीप्रति सबैसँग क्षमायाचना गरेका छन्।

Logo