बारा बस दुर्घटना अपडेटः ज्यान गुमाउने १७ पुगे [सबैको सनाखत]

बारा बस दुर्घटना अपडेटः ज्यान गुमाउने १७ पुगे [सबैको सनाखत]

केन्द्रबिन्दु
0
Shares

वीरगन्जका लागि हिँडेको यात्रुवाहक बस जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित तीन नम्बर पूल नजिकै दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १७ पुगेको छ । 

दशैंको टिकाको दोस्रो दिन एकादशीका दिन मान्यजनका हातबाट टिका लगाउन जाने र फर्कने यात्रुको निकै भिड रहेको बेलामा क्षमता भन्दा धरै बोकेर हिँडेको बा प्र ०६–००१ ख ०११० नम्बरको बस चुरे छोडेर तराई प्रबेश गर्ने अन्तिम घुम्तीमा ब्रेक फेल हुँदा दुर्घटना भएको हो । 

बस सडकबाट ११० मिटर तल बगरमा खस्दा १० जनाको घटनास्थलमै, ४ जनाको अस्पताल लैजाने क्रममा र २ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । साथै गएराति भरतपुरको चितवन मेडिकल कलेजमा बारा कलैयाकी १२ बर्षिय कृतिका चौधरीको उपचारका क्रममा मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यलय बाराका प्रमुख तथा प्रहरी उपरिक्षक होबिन्द्र बोगटीका अनुसार यसअघि ज्यान गुमाएका १६ जनाको पनि सनाखत भैसकेको छ । उनीहरुमा बारा कलैया उपमहानगरपालिकाका लीलाराज चौरसिया, चितवन खैरहनी नगरपालिका–५ की नन्दकुमारी पुडासैनी, चितवन कालिका नगरपालिकाका १५ वर्षीय बालक सफल कँडेल, चितवन खैरहनी–५ का मनोरथ पुडासैनी, बाराका ५५ वर्षीय राम आश्रय राय, पर्सा–१६ की मुन्ननी देवि चौरसिया, पर्साकै सखुवा प्रसौनी गाउँपालिका ६ का दया राउत शंकर रहेका छन् । 

त्यस्तै हेटौँडा–७ की करिब ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, सोही स्थानकी २० वर्षीया स्वस्तिका श्रेष्ठ, बारा–कलैया–१० का नगरिन खातुन, बारा–अमलेखगञ्जका सुरेश विक, बारा–कलैया का इन्ताज अन्सारी, जनकपुर उपमहानगरपालिका–५ का ५० वर्षीय सन्तोषकुमार राय, ओखलढुङ्गाका करिब ४५ वर्षीय लालबहादुर बोगटी, गोर्खाका अम्बिका कँडेल र पर्सा–१६ का सोम प्रसाद चौरसिया रहेका छन् ।

बसमा ५१ जना यात्रु रहेको प्रहरीले बताएको छ । ३३ जना घाइते छन् । घाइतेमध्ये १७ जनाको चितवनका विभिन्न अस्पतालमा, ७ जनाको हेटौंडास्थित चुरेहिल अस्पताल र एक जनाको वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा  उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Logo