काठमाडौं महानगरपालिकाका २५ सामूदायिक विद्यालयमा आविष्कार क्लब

काठमाडौं महानगरपालिकाका २५ सामूदायिक विद्यालयमा आविष्कार क्लब

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिका क्षेत्र भित्रका २५ वटा सामूदायिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रवर्धनका लागि आविष्कार (स्टीम क्लब) कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्रभित्रका छनोटमा परेका २५ वटा विद्यालयमा पहिलो चरणका लागि उक्त कार्यक्रम सञ्चालनका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
विद्यार्थीमा विज्ञान तथा प्रविधिको सिकाइको विकास गर्ने, व्यक्तिगत अभिरुचिको विकास र प्रयोग गर्ने मञ्च उपलब्ध गराउने, आविष्कारमुलक सिकाइको प्रवर्धन गर्ने लगायतका उद्देश्यले सुरुवात गरेको सो कार्यक्रम सञ्चालनका लागि काठमाडौं महानगरपालिकाले छनोटमा परेका ती सबै विद्यालयलाई एक–एक लाख अनुदान दिएको छ ।

अनुदानका लागि सम्झौतापत्रमा हस्ताक्षर तथा चेक हस्तान्तरण कार्यक्रमपछि सम्वोधन गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नयाँ सोचका साथ ल्याएको उक्त कार्यक्रमलाई व्यवहारिक रुपमा लागू गर्न विद्यालयका प्रधानाध्यापकहरुलाई आग्रह गरे ।

‘काठमाडौं महानगरपालिकाले नयाँ सोचका साथ यो कार्यक्रम ल्याएको छ । यसलाई व्यवहारिक रुपमा लागू गर्न तपाईँहरु लाग्नुहोला,’ शाक्यले भने, ‘सामूदायिक विद्यालयका शिक्षकले निजी विद्यालयमा विद्यार्थीको चाप बढी भयो भनेर चिन्ता लिने होइन । गुणस्तरीय शिक्षाका लागि योगदान दिएर सामूदायिक विद्यालयप्रतिको आकर्षण बढाउनतर्फ केन्द्रित हुनुपर्छ ।’

उनले सामूदायिक विद्यालयमा राज्यको ठूलो लगानी रहेको भन्दै राज्यको नीति अनुसार सर्वसुलभ र गुणस्तरीय शिक्षा दिई निजीको भन्दा राम्रा विद्यार्थी उत्पादन गर्नुपर्नेमा जोड दिए । ‘गुणस्तरीय शिक्षा दिन नसक्ने अनि निजी विद्यालयलाई गाली गर्ने कुरा उचित होइन,’ उनले भने, ‘निजीले लगानी गरेको हुन्छ । त्यहाँ व्यापारिक प्रतिफलको पनि अपेक्षा हुन्छ । तर, सामूदायिकले प्रतिफलको अपेक्षा गर्ने भनेको आफ्नो विद्यालयमा पढेका विद्यार्थीको भविष्य सुनिश्चित होस् भन्ने हो । तपाईँहरुले गौरवका साथ भन्न सक्नुहोस् कि निजी विद्यालयमा अध्ययन गरेका भन्दा मेरो विद्यालयमा अध्ययन गरेका विद्यार्थी अब्बल छन् ।’

महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले पनि महानगरपालिकाले नयाँ कार्यक्रम ल्याएको भन्दै त्यसलाई सफल बनाउन सबै प्रधानध्यापकलाई आग्रह गरे। ‘हामीले पहिलो चरणमा २५ वटा विद्यालय छनोट गरेका छौँ । ती मध्ये पनि शिवपुरी माध्यामिक विद्यालयलाई हव विद्यालयका रुपमा छनोट गरेका छौँ’ बस्नेतले भने, ‘यो क्रार्यक्रमको छनोटमा परेका विद्यालयहरुमा कक्षा–९ सम्मका १५ देखि २० जनासम्म विद्यार्थीको सहभागितामा आविष्कार क्लब गठन गरिनेछ । यो कार्यक्रम सम्वन्धित विद्यालयसँग सम्झौता भएको मितिदेखि सञ्चालन भई ०७८ असार मसान्तभित्र सम्पन्न गरिसक्नु पर्नेछ ।’

Logo