नोबल शान्ति पुरस्कार विजेता एलेस अहिले पनि जेलमै, यस्तो छ कारण

नोबल शान्ति पुरस्कार विजेता एलेस अहिले पनि जेलमै, यस्तो छ कारण

केन्द्रबिन्दु
0
Shares

यस वर्षको नोबेल शान्ति पुरस्कार विजेता एलेस बियालियात्स्की अहिले पनि जेलमै छन् । 

बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोको अप्रजातान्त्रिक कदम विरुद्ध निरन्तर बोलिरहेका एलेस अहिले पनि जेलमै छन् । राजनीतिक कारणले बन्दी बनाइएकाहरूलाई सहयोग गर्दै आएका एलेसलाई नोबेल पुरस्कार समितिले प्रजातन्त्र र शान्ति विकासका लागि आफ्नो जीवन अर्पण गरेका व्यक्तिका रुपमा अर्थ्याएको छ । उनलाई यस अगाडि पनि तीन वर्ष जेलमा राखिएको थियो । 

लुकासेन्को सन् १९९४ देखि निरन्तर सत्तामा छन् । बेलारुस सरकारले एलेसलाई अदालतमा पेश नगरिकनै जेलमा राखिएकाे छ । उनलाई कर छलीको आरोपमा जेलमा राखिए पनि सुनुवाई भने गरिएको छैन । राजनीतिक प्रतिशोध साँध्न बेलारुस सरकारले उनलाई जेलमा राखेको बताइन्छ । लुकासेन्कोको शासन सुरु भएदेखि बेलारुसमा मानव अधिकारकर्मी, पत्रकार र नागरिक समाजमाथि निरन्तर दमन हुँदै आएको छ ।

१४ जुलाई २०२१ मा उनलाई जेलमा राखिएको थियो । ६० वर्षीय एलिस सन् १९८० देखि नै बेलारुसमा मानव अधिकार र लोकतन्त्रको वकालत गरिरहेका छन् । उनको संस्था ‘भियास्ना’ले रुसले युक्रेनमाथि हमला गरेपछि रुसी सैन्य अपराधको सिकार भएका युक्रेनी नागरिकको लागत राख्न थालेको थियो । 
एलेसलाई यस वर्षको नोबेल शान्ति पुरस्कार दिइएको घोषणा गर्दै नोबेल पुरस्कार समितिले उनलाई तुरुन्तै रिहा गर्न समेत आग्रह गरेको छ ।

एलेससँगै रुसी मानवअधिकार संगठन ‘मेमोरियल’ र युक्रेनको मानवअधिकार संगठन ‘सेन्टर फर सिभिल लिबर्टिज’ले यस वर्षको नोबेल शान्ति पुरस्कार पाएका छन् । नोबेल पुरस्कार समितिले पुरस्कार बिजेता व्यक्ति तथा संस्थाहरूले शान्ति र लोकतन्त्रका लागि नागरिक समाजको महत्व प्रदर्शन गरेकोले पुरस्कार प्रदान गरिएको उल्लेख गरेको छ । युद्ध अपराध, मानवअधिकार हनन र शक्तिको दुरुपयोगका घटनाहरूको अभिलेखीकरण गर्ने प्रयासका लागि नोबेल समितिले उनीहरूको प्रसंशा गरेको छ ।
 

Logo