नारायणगढ-मुग्लिन सडक : चालु आवभित्र १२ पुल निर्माण हुने

नारायणगढ-मुग्लिन सडक : चालु आवभित्र १२ पुल निर्माण हुने

केन्द्रबिन्दु
0
Shares

चालु आर्थिक वर्षभित्र नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुलमध्ये १२ वटाको निर्माण सकिने भएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका अनुसार यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी पुल निर्माणको काम धमाधम भइरहेको छ । आयोजनका प्रमुख किरण कार्कीले निर्माण भइरहेका १५ वटा पुलमध्ये १२ पुल यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने बताए । उन्नाइस पुलमध्ये चार पुल यसअघि नै निर्माण सम्पन्न भइसकेका उनले जानकारी दिए । पछिल्लोपटक १५ पुल निर्माणका लागि दुई प्याकेजमा ठेक्का आह्वान गरेर काम सुरु गरिएको हो ।

तीमध्ये पहिलो प्याकेजको ४५ र दोस्रो प्याकेजको ८२ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । समग्रमा १५ पुल निर्माणको काम ६० प्रतिशत काम सकिएको छ । सडकखण्डअन्तर्गतका पुललाई दुई भागमा विभाजन गरेर ठेक्का लगाइएको हो । प्याकेज–१ मा इच्छाकामना गाउँपालिकाको मुग्लिनबाट रिग्दीखोलासम्मका पुल छन् ।

जसमा खहरे, चिसेन्जी, तुइन, काली, टोपे, न्याम्सी र रिद्धीखोला गरी सात पुल छन् । यीमध्ये टोपेखोलाको पुल तीन–चार महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । चिसेन्जी र तुइन पुलको काम भर्खर सुरु भएको छ । “यी पुलको डिजाइन गर्न नै एक वर्ष लाग्यो, प्रमुख कार्कीले भने”, पुल निर्माणका लागि डाँडा कटान गर्नुपर्ने भएकाले पहिलो चरणमा ठाउँ तयार गर्दैछौँ ।” भौगोलिकरूपमा पनि यी दुई पुल निर्माण गर्न कठिनाइ रहेको उनले बताए । तिहारपछि एक–दुई घण्टा राजमार्ग बन्द नै गरेर काम गर्ने योजना बनाएको कार्कीले जानकारी दिए ।

रिद्धी र कालीखोलामा आर्कब्रिज भएका कारण निर्माणमा समय लाग्ने उहाँको भनाइ छ । नाम्चेखोलामा पहिराले दुःख दिएका कारण पुल निर्माणमा समस्या भएको कार्कीले बताए । प्याकेज–२ मा भरतपुर महानगरपालिकाअन्तर्गत सिमलतालबाट जुगेडीसम्मका पुल पर्छन् । जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान खोला गरी आठ पुल छन् । यो प्याकेजअन्तर्गत जुगेडीबाहेक अन्य पुलको ९० प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ ।

जुगेडी पुलको पिलर निर्माणको काम भएको छ । सो क्षेत्रमा रहेका घरटहरा र मुअब्जा वितरणमा भएको ढिलाइका कारण पुल निर्माणमा असर परेको आयोजना प्रमुख कार्कीले बताए। यो प्याकेजअन्तर्गत पाँचवटा पुल तीन–चार महिनाभित्रै गाडी गुडाउन मिल्ने गरी काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको उनले भने । कार्कीका अनुसार प्याकेज–१ का सात पुल चार सय ४२ मिटर लामा छन् भने प्याकेज–२ का आठ पुल तीन सय ८१ मिटर लामा छन् ।

पुलको गाडी हिँड्ने ठाउँ सात दशमलव पाँच मिटर फराकिलो हुनेछ । दुवैपट्टि एक दशमलव पाँच मिटर फराकिला फुटपाथ र २५ सेन्टिमिटर रेलिङका लागि छुट्याइएको छ । ठेकेदार कम्पनीलाई नक्साङ्कनसहित ठेक्का दिइएकाले कुल खर्चमा १० प्रतिशत तलमाथि हुनसक्ने आयोजनाले जनाएको छ । दुवै ठेक्का एउटै कम्पनीले पारेको हो । १५ पुलका लागि विसं २०७६ चैत १० गते ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो ।

सम्झौताको ३३ महिनामा काम सम्पन्न गर्ने गरी अनक कन्स्ट्रक्सनले ठेक्का स्वीकार गरेको थियो । तर सम्झौताको म्याद सकिन तीन महिनामात्रै बाँकी छ । एक वर्ष म्याद थप गर्ने आयोजनाले तयारी गरेको छ । नारायणगढ–मुग्लिन सडक विस्तार भएको तीन वर्ष बितिसक्दा पनि पुल निर्माणको काम सकिएको छैन । आयोजनाले कोरोना महामारी, भौगोलिक कठिनाइ, प्राकृतिक प्रकोप र मुअब्जा वितरण लगायतका कारणले काममा ढिलाइ भएको बताएको छ ।

पुल निर्माणका लागि आवश्यक बजेट अभावमा पनि काममा ढिलाइ भएको आयोजनाले बताएको छ । यस वर्ष रु ५० करोड माग गरेकामा रु ११ करोडमात्र विनियोजन भएको छ । पुल निर्माण समयमा नसकिँदा यो सडकखण्ड हुँदै आवतजावत गर्ने सवारी तथा यात्रुले समय–समयमा जामको सास्ती खेप्नुपरेको छ भने दुर्घटनाको समेत जोखिम छ । हाल भएका पुराना पुल सबै अवस्थामा छन् । यो राजमार्गलाई एसियन विकास बैंक (एडिबी) को सहयोगमा एसियन मापदण्डअनुसार बनाइएको हो ।

Skip This
Skip This
Logo