संविधानविद्हरुले राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक संविधानका प्रावधानको उल्लंघन गरेको आरोप लगाएका छन् । राष्ट्रपति भण्डारीले विधेयकलाई १५ दिन भित्र प्रमाणीकरण गर्नै पर्ने संवैधानिक दायित्वलाई उल्लंघन गरेको उनीहरुले आरोप लगाएका हुन् ।
गत असोज ५ गते संघीय संसदका दुवै सदनबाट पारित भइ प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, सार्वजनिक ऋण व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ३ दिन ढिला गरी प्रमाणीकरण गरेकी थिइन् । गत असोज २३ गते राष्ट्रपति भण्डारीले विधेयकहरु १८ दिनमा प्रमाणीकरण गरेको भन्दै संविधानविद्हरुले दोस्रोपटक राष्ट्रपतिबाट संविधानमाथि प्रहार भएको आरोप लगाउँदै आएका थिए ।
केही समयअघि नागरिकता विधेयक पनि पहिलो पटक प्रमाणीकरणका लागि पेस भएको विधेयक संसदलाई सुझावसहित पुनर्विचार गर्नका लागि फर्काएपछि संसदले दोस्रोपटक पारित गरी राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पेस गरेको थियो ।
राष्ट्रपति भण्डारीले भने सबै राजनीतिक दलहरुको एकमत नभइ नागरिकता विधेयकजस्तो विधेयक प्रमाणीकरण गर्नु नहुने स्पष्टोक्ति दिएकी थिइन् । यद्यपी हालसम्म पनि राष्ट्रपति कार्यलयमा नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरणका लागि यथावत छ ।
संविधानविद् खिमलाल देवकोटाले राष्ट्रपति भण्डारीले १५ दिनभित्र प्रमाणीकरण गर्नैपर्ने विधेयकहरु १८ दिन लगाएर प्रमाणीकरण गरेको भन्दै राष्ट्रपतिबाट संविधानमाथि प्रहार गर्ने काम भएको बताए । उनले संविधानले दिएको समय भन्दा बढी समय लिइ विधेयक प्रमाणीकरण गर्नु संविधानको ठाडो उल्लंघन भएको बताए ।
संविधानविद् देवकोटाले राष्ट्रपतिबाट संविधान उल्लंघन गर्ने श्रृंखला कायम रहेको आरोप लगाए । उनले नागरिकताको विधेयकमा पनि राष्ट्रपति भण्डारीले संविधानको उल्लंघन गरेर प्रमाणीकरण नगरेको र त्यही श्रृंखलालाई वैधता दिनको निम्ति अहिले १८ दिनमा प्रमाणीकरण गरेर पठाएको बताए । उनले राष्ट्रपति पद संविधानको पालना गर्न तोकिएको पद भएकाले संविधानको रक्षकबाट नै संविधानबिरोधी काम भएको बताए ।
यता संघीय संसद सचिवालयले भने १५ दिनको समय संवैधानिक व्यवस्थाअनुसार भएपनि प्रमाणीकरण भएर आइसकेपछि विधेयकले मान्यता पाउने जनाएको छ । सचिवालयले १५ दिन नाघेर प्रमाणीकरण भएको बारेमा अदालतमा प्रश्न नउठेसम्म वैधानिक नै मानेर जान सकिने बताएको छ ।
संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले पठाइएको समय र प्रमाणीकरण भएर आएको अवस्थामा १५ दिन भन्ने संवैधानिक व्यवस्थाका कुरा भएपनि प्रमाणीकरण भएर आइसकेका विधेयकले मान्यता पाउँछ भन्ने विश्वास रहेको बताए । उनले संघीय संसदको पछिल्लो अधिवेशन राष्ट्रिय सभा र प्रतिनिधि सभाको दुवै सदनबाट पारित भएर बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, सार्वजनिक ऋण व्यवस्थापन सम्बन्धी विधेयक र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्सम्बन्धी विधेयक वि.सं.२०७९ साल असोज ५ गते सभामुखबाट प्रमाणित भइ राष्ट्रपतिसमक्ष पठाएकोमा असोज २३ गते प्रमाणीकरण भएर आएको जानकारी दिए ।
प्रवक्ता पाण्डेले नागरिकता सम्बन्धी विधेयक पनि प्रमाणीकरणका गएको भएपनि अहिलेसम्म विचाराधिन रहनुले संविधानले दिएको १५ दिनको समयमाथि प्रश्न उठेको बताए । उनले असोज २३ गते १५ दिन कटाएर ३ वटा विधेयक प्रमाणीकरण भएर आउनुले आगामी दिनमा समयावधिको सम्बन्धमा मत विभाजन हुने बताए ।
उनले भने, ‘यही बीचमा केही समयअघि नागरिकता सम्बन्धी विधेयक पनि प्रमाणीकरणका लागि गएको अवस्था थियो । त्यो अहिलेसम्म पनि विचाराधिन रहेको अवस्था छ । त्यो प्रमाणीकरण भएको छैन । यस्ता कुराले १५ दिनको समय राख्नुपर्छ भन्नेकुरा पनि हुनुपर्दैन भन्नेकुराको संकेत गर्दछ । १५ दिन कटेपछि पनि प्रमाणीकरण भएर आए भनेपछि आउने दिनहरुमा त्यो पनि आउँछ कि भन्ने अपेक्षा गर्ने ठाउँ रहन्छ । अब अन्य विधेयकहरुको हकमा १५ दिनको सीमा सम्बन्धमा आगामी दिनहरुमा थप व्याख्या भएर, थप कानूनी प्रावधान भएर आउने अवस्था सिर्जना भएको छ ।’































प्रतिक्रिया