नवौं राष्ट्रिय खेलकुद : लुम्बिनी प्रदेशको पहिलो जित

नवौं राष्ट्रिय खेलकुद : लुम्बिनी प्रदेशको पहिलो जित

केन्द्रबिन्दु
0
Shares

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले पहिलो जित हात पारेको छ।

समूह बी अन्तर्गत बुधबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई १०४ रनको फराकिलो अन्तरले हराएको हो । लुम्बिनीले दिएको १२८ रनको लक्ष्य पछ्याएको कर्णाली लुम्बिनीको बलिङ सामु धेरै बेर टिक्न सकेन । कर्णाली ८.३ ओभर खेल्दै जम्मा २३ रनमै अलआउट भयो । कर्णालीका लागि ओपनर किरन कुँवरले बनाएको ५ रन नै व्यक्तिगत उच्च रह्यो ।

कर्णालीलाई अलआउट गर्न लुम्बिनीका लागि मधु डीसीले ४ ओभरमा ११ रन खर्चेर ४ विकेट लिइन् । कृतिका मरासिनीले १.३ ओभरमा १ रन खर्चेर २ विकेट लिइन् । सुस्मिता भुसालले १ विकेट लिइन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ६ विकेट गुमाएर १२७ रन बनाएको थियो ।

लुम्बिनीका लागि ओपनर लक्ष्मी चौधरीले सर्वाधिक ३१ तथा कप्तान सरस्वती जिएमले ३० रन बनाइन् । मधु डिसी १२ रनमा अविजित रहिन् । कर्णालीका लागि अञ्जु गुरुङले २ तथा एन्जिला क्षेत्रीले १ विकेट लिइन् । जितपछि लुम्बिनीले समूह बी मा दुई खेलबाट ३ अंक जोडेको छ । यसअघि वर्षाका कारण प्रदेश १ विरुद्धको खेल रद्द हुँदा लुम्बिनीले अंक बाँडेको थियो ।
 

Skip This
Skip This
Logo