अभिनेतृ तथा मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दिएकी राप्रपा नेतृ रेखा थापाले आफू माननीय हुन मात्र खोजेको भए काठमाडौं बसेरै हुनसक्ने दाबी गरेकी छन् ।
बिहीबार सुन्दरहरैँचा ११ का मतदाता भेटघाट गर्ने क्रममा उनले यस्तो दाबी गरेकी हुन् । उनले भनिन् ‘ म माननीय मात्रै हुन खोजेको भए काठमाडौं बसेरै माननीय हुन पनि सक्थे । समानुपातिक र महिला कोटाको बारेमा यहाँहरूलाई अवगत नै छ । तर मैले त्यसो गरिन । किनभने मलाई मेरो यस क्षेत्रका मेरा अफन्तहरुको समस्या बुझ्नु छ, यहाँका समस्याहरूको मन्थन गर्ने छ । समाधानको विषयमा छलफल गर्नु छ । त्यसैले म तपाईँहरूसँग आएको हुँ ।’
उनले आफूले आफ्नो सर्त मात्रै हेरेको भए यो स्थानको समस्या यथावत् रहने जिकिर गरेकी छन् । उनले भनिन्- ‘यो स्थान बनाउने सपना बाँडेपछि यस ठाउँको विषयमा जानकारी समेत हुनुपर्छ । मैले जानेको कुरा मेरा बहिनी, आमा बुवा दाजुभाइलाई सिकाउन चाहन्छु होला । उहाँहरूबाट केही सिक्न चाहन्छु । त्यही भएर यहाँ आएकी छु ।’
उनले महिलाहरूले कुनै पनि किसिमको भ्रष्टाचार गरेकोसमेत जिकिर गरेकी छन् । ‘ठाउँमा पुगेका महिलाहरूले कहिल्यै भ्रष्टाचार गरेको सुन्नुभएको छ ? यो छाडौँ घर र चुल्हो सम्हाल्दा समेत महिलाहरूले इमानदारिता देखाएका छन् ।’ उनले भनिन् ।
नेतृ थापाले जनप्रतिनिधि भनेको जनताको साथमा हुनुपर्ने बताइन् । आफ्नो ५ वर्ष यस क्षेत्रको लागि दिन तयार रहेको समेत उनले जिकिर गरिन् ।
आसन्न निर्वाचनमा मोरङ ३ मा एमालेबाट भानुभक्त ढकाल, गठबन्धनबाट सुनिल शर्मा र राप्रपाबाट रेखा थापाबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।





























प्रतिक्रिया