नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको देशको प्रमुख एजेण्डा विकास निर्माण र समृद्धि हुने दाबी गरेका छन् ।
आईतवार काठमाडौंमा आयोजित काठमाडौं क्षेत्र नं. २ का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उम्मेदवारहरुको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभामा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले अब पनि आर्थिक क्रान्तिको अभियानलाई एकसूत्रीय रुपमा अघि बढाउन नसके राजनीतिक परिवर्तनलाई पनि दिगो बनाउन नसकिने जिकिर गरे ।
अध्यक्ष प्रचण्डले आर्थिक क्रान्तिको अभियानलाई एकसूत्रीय रुपमा अघि बढाउन नसके स्थायित्व नआउने र देश निरंकुशता र अराजकताको भुमरिमा फस्ने दाबी गरे ।
उनले भने, ‘विकास निर्माण र समृद्धि नै अब हाम्रो मुख्य एजेण्डा हुनेछ । हामीले आर्थिक क्रान्तिको अभियानलाई एकसूत्रीय रुपमा अघि बढाउन सकेनौँ भने राजनीतिक परिवर्तनलाई पनि दिगो बनाउन सकिँदैन । स्थायित्व पनि नआउने र देश जहिले पनि निरंकुशता र अराजकताको भुमरिमा फस्ने कुरा रही नै राख्छ । म काठमाडौं क्षेत्र नम्बर २ का मतदाताहरुलाई के भन्छु भने अब हाम्रो ऐतिहासिक दायित्व भनेको आर्थिक समृद्धिको एउटा नयाँ क्रान्तितिर अघि बढाउनु हो । त्यसको निम्ति सचेत मतदाताले नयाँ रेकर्ड बनाउनुहुनेछ । त्यसरी मात्रै इतिहासबाट शिक्षा लिएर राज्य र जनताको पक्षमा निरन्तर प्रगति गर्न सक्नेछौँ ।’
अध्यक्ष प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित माओवादी र सरकारसँगको शान्ति सम्झौताका बेलामा नेकपा एमालेको नेतृत्व ओलीले गरेको भए देशमा संघीय लोकतन्त्र नआउने र माओवादीसँग भएको १२ बुँदै सम्झौता हुन नसक्ने दाबी गरे । उनले अध्यक्ष ओलीलाई जालझेल गरेर नेतृत्वमा पुगेको आरोप पनि लगाए ।
उनले भने, ‘उहाँले यहाँ वाचा गर्नुभएका कुरा पूरा गर्नेमा मलाई विश्वास छ । ओनसरी घर्तीलाई यहाँबाट निर्वाचित गराउनुस् । उहाँलाई विजयी गराएपछि एउटा राम्रो विकासे मन्त्री पनि उहाँलाई बनाएर तपाईहरुको अगाडि पठाउनेछौँ । मैले अहिले विभिन्न ठाउँमा निर्वाचन लड्दै गर्दा निर्वाचनको चिन्हलाई लिएर आग्रह पूर्वाग्रह हुने गरेको सुनेको छु, हँसिया हतौडाले रुखमा कसरी भोट हाल्ने ? रुखले कसरी हँसिया हतौडामा भोट हाल्ने भनेको सुनेको छु । हामीले धेरै पहिलादेखि हँसिया हतौडा र रुखलाई एक बनाइसकेका हौँ । २०४६ सालको आन्दोलन संयुक्त गरेर कम्युनिष्ट पार्टी र काँग्रेसको झण्डालाई साथसाथै लिएर आन्दोलनको आँधीहुरी चलायौँ । त्यतिबेला रुख र हँसिया हतौडा एक भएकै हो । जतिबेला शान्ति सम्झौता ग-यौं, त्यसमा ७ राजनीतिक दलको तर्फबाट नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोईराला र बिद्रोही नेकपा माओवादीको तर्फबाट मैले हस्ताक्षर गरेपछि मैले रुख चिन्हमा छाप लगाए बराबर हो र गिरिजाबाबुले हँसिया हतौडामा छाप लगाए बराबर हो । त्यतिबेला सात दलको नेता माधवकुमार नेपाल हो । अहिले विभिन्न खालका तिक्डम गरेर आएका कोही नेताहरु एमालेका नेता थिएनन् । ति नेता भएको भए सायद १२ बुँदे समझदारी र संघीय लोकतन्त्रसम्म आउन दिँदैन थिए ।’
अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा निर्वाचन चिन्हलाई लिएर आग्रह, पूर्वाग्रह हुने गरेको भन्दै कोही नअल्मलिइकन गठबन्धनका उम्मेदवारहरु जिताउन मतदान गर्न आह्वान गरे ।





























प्रतिक्रिया