काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको विवाद साम्य हुने भन्दै दाबी गरेको पाँच दिन पूरा भएको छ ।
गत बुधबार राति एक टेलिभिजनबाट प्रसारित अन्तर्वार्तामा ओलीले पाँच दिनमा पार्टीभित्रको विवाद साम्य हुन्छ भन्दै दाबी गरेका थिए । सोही अन्तर्वार्तादेखि सुरु भएको प्रधानमन्त्री ओलीको काउन्टडाउन आज पूरा भएको हो । प्रधानमन्त्री ओलीले उक्त अन्तर्वार्तामा भनेका थिए–‘हप्ता दश दिन होइन, एक हप्ताभन्दा यतै पाँच दिनमा फेरि मसँग प्रश्न गर्नुस्, के हुन्छ पार्टीको सिनेरियो। भोलिबाट एक दुई भनेर काउन्टडाउन सुरू गर्नुहोला ।’
प्रधानमन्त्री ओलीको दाबीपछि गत शुक्रबार नेकपाभित्रको विवाद मिलाउन कार्यदल गठन गरिएको थियो । नेकपा महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलमा महासचिव पौडेल, प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्थायी कमिटी सदस्यद्वय भीम रावल, सुरेन्द्र पाण्डे, पम्पा भुसाल र जनार्दन शर्मा रहेका थिए । महासचिव पौडेल र पोखरेल प्रधानमन्त्री ओली निकट हुन् भने शर्मा र भुसाल कार्यकारी अध्यक्ष दाहाल निकट हुन् । त्यस्तै रावल र पाण्डे वरिष्ठ नेता माधवकुमार नेपाल निकट हुन् ।
प्रधानमन्त्री ओलीको दाबी अनुसार आज पूरा भएको टाइमलाइनमा पार्टीभित्रको सिनेरियो परिवर्तन भएको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले पार्टीभित्रको सिनारियोमा परिवर्तन ल्याएको हो ।
सचिवालय बैठकमा प्रचण्डले पार्टीभित्रको विवाद समाधान गर्न छ सदस्यीय कार्यदल गठन गरिएकाले अनुमोदनका लागि प्रस्ताव गरेका थिए । प्रचण्डको उक्त प्रस्तावमा वरिष्ठ नेता नेपालले असहमति जनाएका थिए । कार्यदल गठन गर्दा नै आफूसँग पर्याप्त छलफल नगरिएकाले अहिले अनुमोदन गर्ने नाटक मन्चन नगर्दा नै राम्रो हुने उनको आसय थियो ।
वरिष्ठ नेता नेपाललाई सम्झाउँदै उपाध्यक्ष वामदेव गौतमले सहमतिमा अगाडि बढ्नुको विकल्प नभएको बताएका थिए । आजको सचिवालय बैठकमा असन्तुष्ट पक्षमध्येका वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ भने मौन बसेको स्रोतले जनाएको छ । यस्तै ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल सुरुदेखि नै प्रधानमन्त्री ओली निकट रहँदै आएका छन् ।
सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले पार्टीभित्रको सिनेरियो बदलिएको संकेत गरेका छन् । प्रवक्ता श्रेष्ठले संघीय र प्रदेशको मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी नभएको बताए । प्रवक्ता श्रेष्ठले भने–‘सुरुमा पार्टीभित्र वैचारिक, नीतिगत र विधिगत विषयमा निष्कर्ष निकालेपछि मात्रै अरु विषयमा छलफल हुन्छ । प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्री परिवर्तन गर्ने विषयमा अहिले पार्टीमा केही छलफल भएको छैन ।’ साथै, सचिवालय बैठकले विवाद समाधानका लागि अध्यक्षद्वयले गठन गरेको कार्यदललाई अनुमोदन समेत गरेको छ । पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्षद्वय ओली र दाहालबीचको सहमतिमा गत शुक्रबार गठन भएको कार्यदललाई सचिवालयले आज अनुमोदन गरेको हो ।
अध्यक्षद्वयले गठन गरेको कार्यदललाई सचिवालयबाट अनुमोदन गर्नु पर्ने सचिवालय सदस्यहरुले माग गरेका थिए । सोही माग अनुसार आजको बैठकले कार्यदल अनुमोदन गरेको हो । प्रवक्ता श्रेष्ठले विवाद समाधानका लागि अध्यक्षद्वयको पहललाई सकारात्मक रुपमा लिँदै कार्यदललाई अनुमोदन गरिएको जानकारी दिए । कार्यदललाई प्रभावकारी ढंगले काम गर्न सहज बनाउँन सचिवालयमा अनुमोदन गर्नुपर्ने नेताहरुको सुझाव अनुसार अनुमोदन गरिएको प्रवक्ता श्रेष्ठको भनाइ छ । कार्यदलले छिटोभन्दा छिटो पार्टी र सरकार सञ्चालनका लागि गर्नुपर्ने कामहरुको बारेमा सुझाव दिन सफल हुने विश्वास समेत उनले व्यक्त गरे ।
कार्यदलले संकट समाधानका लागि दिएका सुझाव परिमार्जनसहित अध्यक्षद्वयले सचिवालय वा स्थायी समितिमा पेश गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए । वरिष्ठ नेता खनाल, नेपाल र प्रवक्ता श्रेष्ठले उक्त कार्यदलप्रति असन्तुष्टि जनाएका थिए । पार्टीभित्रको विवाद समाधान गर्न महासचिव पौडेलको नेतृत्वमा कार्यदल गठन गर्न किन आवश्यक भयो भन्ने उनीहरुको प्रश्न थियो । कार्यदल गठनमै प्रश्न चिन्ह उठाएका शीर्ष नेताहरुसमेत उपस्थित सचिवालय बैठकले कार्यदल अनुमोदन गर्नुलाई प्रधानमन्त्री ओलीको दाबी अनुसार पार्टीको सिनेरियो बदलिएको रुपमा लिन सकिन्छ ।





























प्रतिक्रिया