झिलिमिली बत्तीको मूल्य १० प्रतिशतले वृद्धिः बजारमा अभाव

झिलिमिली बत्तीको मूल्य १० प्रतिशतले वृद्धिः बजारमा अभाव

केन्द्रबिन्दु
0
Shares

तिहारमा प्रयाेग हुने झिलिमिली बत्तीको मूल्य गत वर्षको भन्दा १० प्रतिशतसम्मले वृद्धि भएको छ । 

नेपाल विद्युतीय व्यावसायी महासंघले गत वर्षको तुलनामा यो वर्ष तिहारमा प्रयोग हुने झिलिमिली बत्तिको मूल्य ८ देखि १० प्रतिशतले वृद्धि भएको बताएको हो । अमेरिकी डलरको मूल्यमा आएको वृद्धि तथा राष्ट्र बैंकको नीतिको कारण बत्तीको मूल्य बढेर आएको महासंघले बताएको छ ।

तिहार नजिकिएसँगै बजारमा तिहार केन्द्रित वस्तुहरूको खरिदबिक्री बढ्न थालेको छ । फूलहरुको र झिलिमिली बत्तीको पर्वको रुपमा मनाइने तिहारका लागि बजारमा बत्ती, भाइमसला, फूलजस्ता वस्तुहरूहरुको बिक्री तथा खरिद शुरु भएको छ । अन्य सामानसँगै तिहारमा सबैभन्दा बढी बिक्री हुने झिलिमिली बत्तीको बिक्री पनि बजारमा शुरु भएको महासंघले जनाएको छ । 

महासंघका महासचिव कमल पोखरेलले बजारमा झिलिमिली बत्तीको माग बढे पनि विगतका वर्षको तुलनामा यो वर्ष बत्तीको आयातमासमेत केही कमी आउने बताए । उनले आयातमा कमी तथा  गत वर्षको तुलनामा विद्युतीय झिलिमिली बत्तीको मूल्यसमेत ८ देखि १० प्रतिशतसम्म बढेको बताए । 

महासचिव पोखरलले मंगलवार सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाली मुद्रासँगको तुलनामा अमेरिकी डलरको मूल्य बढ्नाले मूल्य वृद्धि भएको बताए । उनले तातोपानी र रसुवागढी नाका सहजतापूर्वक सञ्चालन नहुँदा र प्रतिपत्र (एलसी) खोल्ने समयमा शतप्रतिशत रकम राख्नुपर्ने व्यवस्थाले आयात कम भएको बताए । 

उनले भने, ‘नेपालमा झिलीमिली बत्तीको उत्पादन छैन । धेरै प्रतिशत चीनसँग निर्भर रहेका छौं । तिहारमा झालर,माला बत्ती,बल्व लगायत अधिकांश चीनबाट आउँछन् र थोरै मात्रामा भारतबाट आउँछ । पछिल्लो २ वर्ष कोभिडको मारमा प¥यौं । पछिल्लो राष्ट्र बैंकले लिएको मौद्रिक नीति र अमेरिकी डलरको तुलनामा नेपाली पैसाको तुलनामा गिरावट आएको कारण यो वर्षको तिहारमा विगतका वर्षको जस्तो झिलिमिली बत्तीको धेरै व्यापार हुने देखिएको छैन । बत्तीको आयातसमेत कम हुने महासंघको आँकलन छ । विदेशबाट वस्तु आयात गर्दा एलसी खोल्दा १२० प्रतिशत पैसा बुझाउनु पर्ने भएको छ । डलरको मूल्य वृद्धि भएको तथा झिलीमिली बत्ती चीनबाट लोड गर्ने बेलामा लकडाउन भएकाले कम आउने देखिन्छ ।’

उनले थपे, ‘चीनबाट आयातका लागि नेपाली व्यावसायीहरुले अर्डर दिएतापनि जुन बेला लोड हुनुपर्ने थियो, त्यत्ति बेला चीनका शहरहरुमा लकडाउन भयो । जसले गर्दा अहिले धेरै सामान आइपुगेको छैन । गत वर्षको तुलनामा भन्दा कम बत्ती आयत हुने देखिन्छ । यो वर्ष अहिलेसम्म २० देखि २५ करोडको भएको छ । यसमा केही मात्रामा बढ्नसक्छ । विगतको भन्दा बजारमा तिहारमा आवश्यक पर्ने झिलिमिली बत्ती कम रहेको छ । सरकारले लिएको पछिल्लो नीतिको कारण आयात कम भएको छ । डलरको मूल्य बढेको कारण पहिलाको तुलनामा थोरै महंगो हुन्छ । बजारमा झिलीमिलि बत्तीहरुको मूल्य ८ देखि १० प्रतिशतसम्म बढ्छ ।  डलरको मूल्य बढेरले मूल्य १० प्रतिशत बढ्नसक्छ । कोभिड भन्दा अगाडि ६० देखि ७०  करोडको झिलीमिली बत्ती आयात हुने गरेको थियो । विगतको तुलनामा कोरोना महामारीपछि निरन्तर यस्ता झिलिमिली बत्तीको आयात घटिरहेको छ ।’

त्यस्तै,विद्युतीय व्यापारीहरुले ग्राहकको माग अनुसार बजारमा तिहारको लागि आवश्यक झिलिमिली बत्ति नभएको बताएका छन् । काठमाडौंका विद्युतीय व्यापारी मनराज खतिवडाले बित्तीहरुको मूल्य बढेर आएको बताए । अर्का व्यापारी दुर्गा सापकोटाले महँगो भएपनि ग्राहकहरुले खोजेको सामान नभएको बताए ।  

नेपालमा सामान्य अवस्थामा विद्युतीय सामग्री तथा बत्ती नेपालमा वार्षिक १ अर्बभन्दा धेरैको आयात हुने गरेको छ ।  । जसमध्ये आयात हुने झिलिमिली बत्तीको ८० प्रतिशत खपत तिहारको समयमा हुने महासंघले बताएको छ  । त्यस्तै, क्रिसमस, नयाँ वर्ष तथा विवाह भोजजस्ता कार्यक्रमहरुमा २० प्रतिशत आयातित बत्तीको खपत हुने गरेको महासंघले जनाएकाे छ । तिहारमा बजारमा सबैभन्दा धेरै एलईडी लाइट, एलईडी डिस्को लाइट, एलईडी फ्रेम लाइट, नेट झालर, दियो, स्ट्रप लाईट अत्याधिक बिक्री हुने गर्दछ । 

Logo