संघीय र प्रदेशको मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी छैन–प्रवक्ता श्रेष्ठ

संघीय र प्रदेशको मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी छैन–प्रवक्ता श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले संघीय र प्रदेशको मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी नभएको बताएका छन् । सोमबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठ सो कुरा बताएका हुन् । मन्त्रिमण्डल परिवर्तन गर्ने कुनै तयारी नभएको उनको भनाइ छ । प्रवक्ता श्रेष्ठले भने–‘सुरुमा पार्टीभित्र वैचारिक, नीतिगत र विधिगत विषयमा निष्कर्ष निकालेपछि मात्रै अरु विषयमा छलफल हुन्छ । मन्त्री परिवर्तन गर्ने, मुख्यमन्त्री परिवर्तन गर्ने विषयमा अहिले पार्टीमा केही छलफल भएको छैन ।’

त्यस्तै सचिवालय बैठकले विवाद समाधानका लागि अध्यक्षद्वयले गठन गरेको कार्यदललाई अनुमोदन गरेको छ । पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गत शुक्रबार गठन गरेको कार्यदललाई सचिवालयले अनुमोदन गरेको हो ।

अध्यक्षद्वयले गठन गरेको कार्यदललाई सचिवालयबाट अनुमोदन गर्नुपर्ने केही सचिवालय सदस्यहरुको मागपछि आजको बैठकबाट सो निर्णय गरिएको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विवाद समाधानका लागि अध्यक्षद्वयको पहललाई सकारात्मक रुपमा लिँदै कार्यदललाई अनुमोदन गरिएको जानकारी दिए । कार्यदललाई प्रभावकारी ढंगले काम गर्न सहज होस भनेर सचिवालयमा अनुमोदन गर्नुपर्ने नेताहरुको सुझावअनुसार अनुमोदन गरिएको प्रवक्ता श्रेष्ठको भनाइ छ । कार्यदलले छिटोभन्दा छिटो पार्टी र सरकार सञ्चालनका लागि गर्नुपर्ने कामहरुको बारेमा सुझाव दिन सफल हुने विश्वास समेत उनले व्यक्त गरे ।

गत शुक्रबार पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो । जसमा प्रधानमन्त्री ओली पक्षबाट महासचिव पौडेल, प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल र कार्यकारी अध्यक्ष प्रचण्ड पक्षबाट स्थायी कमिटी सदस्य जनार्दन शर्मा, पुष्पा भुसाल रहेका छन् भने वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट स्थायी कमिटी सदस्य भीम रावल र सुरेन्द्र पाण्डे रहेका छन् । कार्यदलले संकट समाधानका लागि दिएका सुझाव परिमार्जनसहित अध्यक्षद्वयले सचिवालय वा स्थायी समितिमा पेश गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

Skip This
Skip This
Logo