करिब २ करोड अनियमितता अभियोगमा सहायकरथी राणासहित तीन सैनिक बर्खास्त

करिब २ करोड अनियमितता अभियोगमा सहायकरथी राणासहित तीन सैनिक बर्खास्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

समरी जनरल सैनिक अदालतले सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूरमा एक सहायकरथीसहित तीन सैनिक अधिकारीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार आइतबार बसेको उक्त अदालतले सहायकरथी प्रयोगजङ राणा, महासेनानी नवीन सिल्वाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई सैनिक सेवाबाट हटाउने फैसला गरेको हो ।

पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रमा रहँदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहर्याउँदै अदालतले सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको हो । सहायकरथी राणाले एक करोड ५२ लाख २७ हजार तथा महासेनानी सिल्वालले १५ लाख ७९ हजार रकम हिनामिना गरेको ठहर गर्दै अदालतले बिगो बराबरको रकम निजहरुबाट असुल उपर गर्ने निर्णय गरेको छ ।

उक्त अदालतले सहसेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह घटुवा गर्ने तथा प्राविधिक सहसेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत दिने निर्णय पनि सुनाएको छ । अभियोगमा अनुसन्धानको दायरामा रहेका महासेनानी राजेन्द्रमणि गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डे (अवकाश प्राप्त) लाई भने अदालतले सफाइ दिने गरी फैसला गरेको छ ।रासस

Logo