आसन्न निर्वाचनमा विभिन्न दलबाट ३६ भन्दा बढी नातेदार चुनावी मैदानमा छन् ।
पार्टीको माथिल्लो तहमा रहेका नेताहरुले आफन्तलाई पनि उम्मेदवारको सूचीमा राख्दै आएका छन् । लामो समय पार्टीमा योगदान गरेका नेतालाई पन्छ्याएर टिकट वितरणमा नातावाद हावी हुँदा कार्यकर्तामा भने असन्तुष्टि चुलिने गरेको छ । संघ र प्रदेशसभा निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवासहित अरु ९ नेताका दम्पती नै उम्मेदवार छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले त आफूसहित परिवारका तीन जनालाई उम्मेद्वार बनाएका छन् ।
प्रधानमन्त्री देउवा सातौँपटक डडेल्धुरामा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ उम्मेदवार छन । उनकी पत्नी आरजु राणा कांग्रेसको समानुपातिक खस–आर्य समूहबाट तेस्रो नम्बरमा उम्मेदवार छिन् । गृहमन्त्री बालकृष्ण खाणका पनि दम्पती नै उम्मेदवार छन् । खाण रुपन्देही– ३ बाट प्रत्यक्षतर्फ उम्मेदवार छन् भने पत्नी मञ्जु प्रतिनिधिसभाकै समानुपातिक सूचीमा छिन् । माओवादी उपमहासचिव वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्ती श्रीमान् श्रीमती हुन् । पुन रोल्पाबाट र घर्ती काठमाडौं– २ बाट उम्मेदवार छन् ।
त्यस्तै, एमाले सचिव रघुवीर महासेठदम्पती धनुषाका २ क्षेत्रबाट प्रतिस्पर्धामा छन । महासेठ धनुषा– ४ रपूर्वमन्त्रीउनकी पत्नी जुली महतो धनुषा– ३ बाट उम्मेदवार छन् । जसपाका वरिष्ठ नेता अशोक राई सुनसरी– १ बाट प्रत्यक्षमा उम्मेदवार बनेका छन् भने उनकी पत्नी सुशीला श्रेष्ठ प्रतिनिधिसभामा समानुपातिकको बन्दसूची छिन् ।
नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको उम्मेदवारी खारेज भए पनि उनकी पत्नी रञ्जिता श्रेष्ठ कैलाली– १ बाट चुनावी मैदानमा उत्रिएकी छिन् । रेशमका बुवा बर्दिया २ बाटै स्वतन्त्र उम्मेदवार छन् । शिक्षामन्त्री देवेन्द्र पौडेलका दम्पती नै उम्मेदवार छन् । पौडेल बाग्लुङ– २ बाट प्रत्यक्षतर्फ उम्मेदवार छन् । माओवादीको पोलिटब्युरो सदस्य रहेकी उनकी पत्नी बलावती शर्मा प्रतिनिधिसभाकै समानुपातिक सूचीमा छिन् ।
खेलकुदमन्त्री महेश्वर गहतराजका पनि दम्पती नै उम्मेदवार छन् । गहतराज माओवादीको तर्फबाट बाँके– १ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गर्दै छन् । भने उनकी पत्नी पार्वती गहतराजको नाम लुम्बिनी प्रदेश सभाको समानुपातिक सूचीमा छ । त्यसैगरी, माओवादीका सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट डडेल्धुराबाट प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन् । उनकी पत्नी मञ्जु बम प्रदेशमै समानुपातिक सूचीमा छिन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले गोरखा– २ बाट उम्मेद्वारी दिएका छन भने बुहारी विना मगरले कञ्चनपुर– १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी छिन् । त्यस्तै, ज्वाइँ जीवन आचार्य मोरङ– ६ (क) बाट प्रदेश सभामा प्रतिस्पर्धा गर्दै छन् । एमालेबाट महासचिव शंकर पोखरेल दाङ– २ बाट प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्दै छन । उनकी बहिनी मेनका पोखरेल प्रतिनिधिसभाकै समानुपातिक उम्मेदवार छन । उनको नाम खस–आर्य समूहको पहिलो नम्बरमा छ ।
लोसपा अध्यक्ष महन्थ ठाकुर महोत्तरी– ३ बाट प्रतिनिधिसभामा प्रत्यक्षका उम्मेदवार छन । उनकी छोरी मीनाक्षी ठाकुर प्रतिनिधिसभाकै समानुपातिक उम्मेदवार छिन् । एमाले उपाध्यक्ष सुवास नेम्वाङ र पोलिटब्युरो सदस्य वसन्त नेम्वाङ नातामा दाजुभाइ (काका–बडाबाका छोरा) हुन् । सुवास इलाम– २ बाट र वसन्त पाँचथरबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार छन् ।
कांग्रेसमा कोइराला परिवार भनेर चिनिएको परिवारबाट तीनजना उम्मेदवार बनेका छन् । बिपी कोइरालाका जेठा दाइ केशवका छोरा नेता शेखर कोइराला मोरङ– ६ बाट प्रतिस्पर्धा गर्दै छन । त्यसैगरी बिपीकै पुत्र शशांक कोइराला नवलपुरबाट उम्मेदवार छन् । भने बिपीका कान्छा भाइ गिरिजापुत्री सुजाता मोरङ– २ बाट भिड्दै छिन् ।
एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे र एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे दाजुभाइ हुन । तीसको दशकदेखि राजनीतिमा रहेका दाजुभाइमध्ये सुरेन्द्र चितवन– १ बाट र राजेन्द्र धादिङ– १ बाट उम्मेदवार छन् । माओवादी उपमहासचिव शक्ति बस्नेत जाजरकोटबाट उम्मेदवार छन् । बस्नेतकी बहिनी ज्ञानु प्रतिनिधिसभातर्फकै समानुपातिकतर्फकी उम्मेदवार हुन् ।
अर्थमन्त्री जनार्दन शर्मा पश्चिम रुकुमबाट प्रतिनिधिसभा सदस्यका प्रतिस्पर्धामा छन् भने शर्माकी बहिनी नारायणी प्रतिनिधिसभातर्फकै समानुपातिकतर्फका उम्मेदवार हुन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई काठमाडौं– ७ मा माओवादीका तर्फबाट प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्दैछन् भने बाबुरामकी बुहारी दुर्गा भट्टराई न्यौपाने प्रतिनिधिसभाकै समानुपातिक सूचीमा छिन् ।





























प्रतिक्रिया