नेपाली बजारमा प्रशस्त भारतीय फूल

नेपाली बजारमा प्रशस्त भारतीय फूल

केन्द्रबिन्दु
0
Shares

हिन्दु नेपालीहरुको पर्व तिहारमा फूलहरु विदेशबाट आयात गर्न प्रतिवन्ध भएपनि नेपाली बजारमा भारतीय फूल प्रशस्त देखिएको छ  । तिहारको पूर्वसन्ध्यामा काठमाडौंका बजारहरुमा भारतबाट आयातित सयपत्री फूल प्रशस्त भेटिएको हो । 

बजारमा नेपाली फूलहको मूल्य भन्दा भारतबाट आयात भएको फूल महँगो भएको सर्वसाधारणहरुले गुनासो गरेका छन् । घरका झ्याल,ढोका पसल सजाउनको लागि प्रयोग गरिने सयपत्री फूलको मालाको मूल्य विगतका वर्षहरुमा भन्दा यस वर्ष बढेको सर्वसाधारणले बताएका छन् । 

सरकारले फूलमा नेपाल आत्मनिर्भर भएको भनेपनि बजारमा भारतबाट आयात भएका सयपत्री फूल प्रशस्त रुपमा बिक्री भइरहेको स्वयं व्यापारीहरु नै बताउँछन् । उनीहरुले फूलमा नेपाल आत्मनिर्भर भएपनि भारतबाट फूल आयात हुँदा नेपाली फूल उत्पादन गर्ने किसान र व्यापारी मारमा परेको गुनासो गरेका छन् । 

सोमवार काठमाडौंको न्युरोडमा माला व्यापारी प्रेमबहादुर गिरीले विगतका वर्षहरुमा भन्दा यो वर्ष मौसमको कारण फूलको मूल्य बढेको बताए । उनले तिहार भन्दा अगाडि फूल वर्षाको कारण कुहिएकाले बजारमा नेपाली फूल महँगो भएको बताए । 

व्यापारी गिरीले तिहारमा भारतबाट पनि धेरै मात्रामा फूल आयात भएकाले नेपालमा उत्पादित फूल व्यापारीहरुलाई समस्या भएको गुनासो गरे । उनले विगतका वर्षहरुको भन्दा अहिले भारतबाट आयात हुने फूलमा कमी आएपनि पूर्ण रुपमा नरोकिएको बताए । उनले नेपाली उत्पादनलाई सरकारले व्यवस्थित गरेर आयातलाई पूर्णरुपमा रोक्नुपर्नेमा सरकारले नसकेको बताउँदै नेपाली उत्पादनलाई प्राथमिकता दिने सरकार नरहेको आरोप लगाए ।  
 
सर्वसाधारणहरुले नेपाल फूलमा आत्मनिर्भर भएर पनि भारतबाट आयात गरी महंगोमा बेचिरहेको बताए । एक सर्वसाधारणले भारतबाट फूल आयात प्रतिवन्ध भनिएपनि बजारमा व्यापारीहरुले बेच्दा नै भारतीय माला र नेपाली माला भन्दै बेच्ने गरेको बताए । उनले भारतबाट माला आयातमा रोक लगाएको भनिएपनि बजारमा भारतीय माला पनि प्रशस्त रहेको बताए । 

त्यस्तै न्युरोडमा सयपत्री फूलको माला किन्न आउनुभएका अर्का सर्वसाधारण विपिन खड्काले बजारमा विगतका वर्षहरुको भन्दा १० प्रतिशत भन्दा बढी मूल्य बढी परेको बताए । उनले यो वर्ष नेपाली उत्पादनलाई प्राथमिकता दिएर भारतबाट कम आयात गर्नु राम्रो भएको बताए । 

तिहारको तेस्रो दिन बजारमा यतिबेला माला किन्नेको भीडभाड बढेको छ । बजारमा फूलको माला तथा अन्य रङ लगायत भाईमसला टोपी,लक्ष्मीको फोटाहरुको बिक्री र खरिद गर्ने मानिसहरुको उल्लेख्य भीड छ । 

Skip This
Skip This
Logo