एनआईसी एशिया बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०७९/८० को प्रथम त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
बैंकिङ्ग क्षेत्रको विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । यस बैंकले चालू आर्थिक वर्षको प्रथम त्रयमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम रू. २७३.१० अर्ब पु-याउन सफल भएको छ । साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन रू. ३०८.१८ अर्ब पु-याउन सफल भएको बैंकले जनाएकाे छ ।
यस त्रयमासमा बैंकले खुद मुनाफातर्फ रू. १.७५ अर्ब आर्जन गर्न सफल भएको छ, जुन वार्षिक विन्दुगत आधारमा ४९ प्रतिशतको वृद्धि हो । यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल २६.५५ प्रतिशत रहेको छ । साथै, यस बैंकले वार्षिक प्रति शेयर आम्दानी रू. ५९.६२ आर्जन गर्न बैंक सफल भएको छ । स्व– पूँजीमा प्रतिफल र प्रति शेयर आम्दानी २६ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई प्रथम त्रयमाससम्ममा ०.५९ प्रतिशतमा सीमित राख्न सफल भएको छ ।
बैंकले आ.व. २०७९/८० को प्रथम त्रयमाससम्ममा २ लाखभन्दा बढी नयाँ ग्राहकहरू थप गर्दै ३४ लाखभन्दा बढी ग्राहक महानुभावहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । यसै त्रयमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८४ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ ।
हाल यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०३ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।





























प्रतिक्रिया