डी ब्रुयनाको गोलमा सिटीको जित, शीर्ष स्थानमा उक्लियो

डी ब्रुयनाको गोलमा सिटीको जित, शीर्ष स्थानमा उक्लियो

केन्द्रबिन्दु
0
Shares

केभिन डी ब्रुयनाको गोलमा साविक विजेता म्यानचेस्टर सिटीले शनिबार राति इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीमाथि १–० को विजय हासिल गरेको छ । जितसँगै सिटी लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

सिटीले ४९औँ मिनेटमा डी ब्रुयनाको गोलबाट अग्रता लिएको थियो । डी ब्रुयनाले ज्याक ग्रेलिशको पासमा गोल गरेका थिए । डी ब्रुयनाको त्यही गोल सिटीको जितमा निर्णायक बन्यो । ५४औँ मिनेटमा लेस्टरका टिलेमान्सले हानेको प्रहार सिटीका गोलकिपर इडर्सनले मुस्किलले पञ्च गरेर बचाएका थिए । खेल सकिन लाग्दा घरेलु टोली लेस्टरले गोलका केही राम्रा अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन । सिटीले १२ खेलबाट २९ अंक जोडेको छ । त्यो दोस्रो स्थानको आर्सनलभन्दा एक अंकले माथि हो । आर्सनलले एक खेलम कम खेलेको छ । आर्सनलले आइतबार नवप्रवेशी नटिङ्घम फरेस्टविरुद्ध खेल्नेछ । पराजित लेस्टर ११ अंकका साथ १७औँ स्थानमा छ ।

आज चोटका कारण इर्लिङ ब्राउट हालान्ड लेस्टरविरुद्धको खेलमा टिममा थिएनन् । हालान्डको अनुपस्थितिमा सिटीको अग्रपंक्ति युलियन अल्भारेजले सम्हालेका थिए । अल्भारेज पनि यसै सिजनको सुरुमा रिभर प्लेटबाट एक करोड ४२ लाख पाउन्डमा सिटी आएका थिए । हालान्डले सिटीबाट जारी सिजन १५ खेलमा २२ गोल गरिसकेका छन् । उनी यसै सिजनको सुरुमा बोरुसिया डर्टमन्डबाट सिटीसँग अनुबन्ध भएका हुन् ।

हालान्डसँगैसँगै प्रशिक्षक पेप ग्वार्डिओलाले गएको साता च्याम्पियन्स लिगमा बोरुसिया डर्टमन्डविरुद्ध खेलेको टिममा सात खेलाडी परिवर्तन गरेका थिए । लेस्टरमा पनि अघिल्लो खेलमा टिममा रहेका दुई खेलाडी परिवर्तन गरिएको थियो । लेस्टरका प्रशिक्षक ब्रेन्डन रोजर्सले पाट्सन डाकाको स्थानमा जेमी भार्डे र बौबाकरी सौमारेको स्थानमा कागलर सोयेन्सुलाई टिममा समावेश गरेका थिए । सौमारेले चोटका कारण सिटीविरुद्धको खेल गुमाएका हुन् । सोयेन्सुले गएको मेपछि पहिलोपटक खेलेका हुन् ।

Logo