आयुक्त भण्डारी भन्छन्- उम्मेदवारलाई फसाउने नियतले उजुरीहरु आए

आयुक्त भण्डारी भन्छन्- उम्मेदवारलाई फसाउने नियतले उजुरीहरु आए

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगमा केही उजुरीहरु उम्मेदवारलाई फसाउने नियतका साथ आएको पाइएको छ ।  

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कतिपय उजुरीहरु अरुलाई फसाएर फाइदा लिने गरी झुटा विवरणहरुसहित आएको बताएका हुन् । सोमबार अपरान्ह सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले आयोगमा सोसम्बन्धि १५० वटा उजुरी रहेको र करिव ५० वटा उजुरी भने कारबाहीका लागि योग्य रहेको स्पष्ट पारे । 

उनले भने, ‘निर्वाचन आचारसंहीतामा धेरै उजुरीहरु परे, निर्वाचनको सन्दर्भमा आचारसंहीता उल्लंघन भइरहेको छ भन्ने छ । हामीले तुलनात्मक रुपमा विगतका निर्वाचन र अहिले भइरहेको र गत स्थानीय तहको निर्वाचन, तीन वटै निर्वाचनलाई समष्टिगत मूल्यांकन गरी हेरेका छौँ । तुलनात्मक रुपमा भन्नुपर्दा यो भन्दा अघिका निर्वाचनमा जुन अनुपातमा आचारसंहीता उल्लंघन हुन्थ्यो । सो अनुपातमा अहिलेको निर्वाचनमा आचारसंहीता उल्लंघनको घटना कम भन्ने आयोगको रेकर्डमा देखिन्छन् । किन भयो भने शुरुदेखि नै आचारसंहीताको विषयमा आयोग र दल संयुक्त रुपमा छलफल गर्दा कडाईका साथ आचारसंहीता परिपालन गर्नुपर्छ भनेर राजनीतिक दलहरुबाट पनि सुझाव आए । त्यो सुझावलाई कार्यान्वयन गर्न हामी पनि कडाईका साथ प्रस्तुत हुन्छौँ है भनेर आयोगले पनि प्रतिवद्धता जनाएको अवस्था हो । अहिले त्यो हुँदाहुँदै पनि १५० भन्दा बढी उजुरीहरु छन्, आचारसंहीता उल्लंघन भएका । कतिपय उजुरीहरु सत्यतामा आधारित छन् । कतिपय उजुरीहरु अरुलाई फसाएर फाइदा लिने प्रयोजनका लागि झुटा विवरणका उजुरीहरु पनि छन् ।’ 

उनले अगाडि थपे, ‘हामी मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा र प्रमुख जिल्ला अधिकारीको सहसंयोजकत्वमा अनुगमन अधिकारीहरु सम्बन्धित निर्वाचन क्षेत्रमा हुनुहुन्छ । सबै निर्वाचन अधिकृतहरु अनुगमन अधिकारी हो । अनसगमनको सवालमा तपाईहरु अलि कडाईका साथ पेस हुनुस्, ताकि यो निर्वाचन भनेको आचारसंहीता कसैले पनि उल्लंघन नगरीकन सीमारेखा भित्र रहेर निर्वाचनमा स्वच्छ प्रतिष्पर्धा गर्नुस्, ताकि त्यसको परिणामा सबै जनताले सहजता स्वीकार्न सकुन् भनेर हामीले शुरुदेखि नै निर्देशन दिँदै आइरहेका छौँ । आयोग आचारसंहीता परिपालन गर्नको लागि कडाईका साथ प्रतिवद्ध छ । विगतको भन्दा अहिले घटनाक्रम कम छ । उजुरी नै नपरेको भन्ने होइन, जतिपनि आयोगमा उजुरी परेका छन्, त्यो उजुरीहरु हामीले छानबिन गरिरहेका छौँ । कतिपय सचेत गराउनुपर्ने कतिपय झुटा उजुरीहरु तामेलीमा राख्नुपर्ने, कतिपय सजाय नै गर्नुपर्ने प्रकृतिका उजुरीहरु छन् । आयोगको आफ्नै परम्परा, कानून, संविधानले दिएको सीमा छ । त्यो भित्र रहेर हामी अनुसन्धान गर्छौं । अनुसन्धानबाट जे ठहर्छ, आयोगले जे निर्णय गर्छ, भोलि यहाँहरुसमक्ष सार्वजनिक हुन्छन् । लगभग ४०/५० वटा जति आयोग निर्णय गर्नसक्ने स्थितिमा पुगिसकेको छ ।’

निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आचारसंहिता उलंघन हुन नदिने गरी अनुगमनको आवश्यक व्यवस्था मिलाइएको पटकपटक दोहो-याए । आयोगले निर्वाचन आचारसंहिताको उलंघनको घटनाको उजुरीमाथि छानवीन गर्ने क्रम जारी रहेको पनि जनाएको छ । आगामी मंसीर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । 

Logo