चुनावी मैदानमा सुदूरपश्चिमका ४ महिला उम्मेदवार

चुनावी मैदानमा सुदूरपश्चिमका ४ महिला उम्मेदवार

केन्द्रबिन्दु
0
Shares

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ सुदूरपश्चिमबाट चार महिला चुनावी प्रतिस्पर्धामा छन् ।

१६ निर्वाचन क्षेत्र रहेको यस प्रदेशमा प्रतिस्पर्धामा रहेका कुल १३७ उम्मेदवारमध्ये कञ्चनपुरमा बिना मगर र निरुदेवी पाल, कैलालीमा रञ्जिता श्रेष्ठ र डोटीमा गौरीकुमारी ओली प्रत्यक्षतर्फका उम्मेदवार हुन् । कञ्चनपुर–३ की पाल र डोटीकी ओली एमाले उम्मेद्वार हुन् । श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–१ मा र मगर माओवादीबाट कञ्चनपुर–१ मा उम्मेदवार छन् । मगर एमालेका तारा लामा तामाङसँग मुख्य प्रतिस्पर्धा गर्दैछन् भने पालको मुख्य प्रतिस्पर्धा कांग्रेसका रमेश लेखकसँग हुँदैछ ।

१० महिनाअघि गठित नागरिक उन्मुक्ति पार्टीकी श्रेष्ठ कांग्रेसका रामजनम चौधरी र एमालेका तपेन्द्र रावलसँगको प्रतिस्पर्धामा छिन् । पहिलोपटक प्रत्यक्ष निर्वाचन भिड्न लागेकी एमालेकी पाल प्रतिनिधिसभाका निवर्तमान सांसद हुन् । यसअघि उनलाई एमालेले समानुपातिक कोटाबाट सांसद बनाएको थियो । उनीसँगको प्रतिस्पर्धामा रहेका कांग्रेसका लेखक पटकपटक कञ्चनपुर ३ बाटै चुनाव लडिसकेका नेता हुन् । 

माओवादीकी बिना मगर द्वारिकादेवी ठकुरानीपछि सुदूरपश्चिमबाट मन्त्री बन्ने दोस्रो महिला उम्मेद्वार हुन् । नागरिक उन्मुक्तिकी श्रेष्ठ राजनीतिमा आएको धेरै भएको छैन । टीकापुर घटनामा दोषी करार भएर जेल जीवन बिताइरहेका रेशम चौधरीकी श्रीमती श्रेष्ठ श्रीमानको विरासत थाम्दै राजनीतिमा उचाइ प्राप्त गर्ने ध्याउन्नमा छन् । उनले आफ्नै नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी गठन गरेको दस महिना पनि भएको छैन तर यसबीचमा सम्पन्न स्थानीय तह निर्वाचनमा चारवटा स्थानीय तहको नेतृत्व जितेर उनको पार्टी कैलालीमा पहिलो बनेको छ ।

श्रेष्ठले पटक–पटक सांसद र मन्त्रीसमेत भएका कांग्रेसका रामजनम चौधरी र यसअघि टीकापुर नगरपालिकाको प्रमुख रहेका एमालेका रणबहादुर रावललाई पराजित गर्नुपर्ने चुनौती छ । एमाले पोलिटब्युरो सदस्यसमेत रहेकी डोटीकी ओली यसअघि समानुपातिक सांसद हुन् । पहिलोपटक प्रत्यक्ष चुनावमा होमिएकी उनको प्रतिस्पर्धा एकीकृत समाजवादीका प्रेम आले अगरसँग हुँदैछ । उनी गठबन्धनका उम्मेदवार हुन् ।  

Skip This
Skip This
Logo