अदालतमा सन्दीपकाे बयान- ‘मलाई कसैको उक्सावटमा फसाइयो’ [भिडियो सहित]

अदालतमा सन्दीपकाे बयान- ‘मलाई कसैको उक्सावटमा फसाइयो’ [भिडियो सहित]

केन्द्रबिन्दु
0
Shares

नेपाली क्रिकेटर सन्दीप लामिछानेसँगको बयान सकिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा उनको बयान भएको हो । 

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपबिरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले सोमवार अभियोगपत्र दायर गरेको थियो । अभियोग पत्र दायरपछि अदालतमा मंगलवार सन्दीपको बयान भएको हो । 

सन्दीपसँग बयान लिने काम सकिएकाले बुधवारबाट थुनछेक बहस हुने सन्दीप पक्षका वकील मुरारी सापकोटाले बताए । उनले आज प्रहरीले ढिलो गरी अदालतमा उपस्थित गराएको र बीचमा बत्ती गएका कारण बयान लिने काम ढिला शुरु भएको बताए । सन्दीपले बयानका क्रममा आफूप्रति बदनियत र कसैको उक्सावटमा अभियोग लगाएको बयान दिएको उनले बताए । उनले सन्दीपले आफूमाथि लागेको अभियोग झुटो रहेको प्रमाणसमेत पेस गरेको बताए । 

उनले भने, ‘आज बयान सकियो । थुनछेक बहस हुन पाएन, भोलिबाट थुनछेकको वहस शुरु हुन्छ । जबरजस्तीकरणको अभियोग मप्रति बदनियतका साथ कसैको उक्सावटमा लगाइएको छ, जुन अभियोग झुटो हो भनेर बयान गर्नुभएको छ र आफ्नो इन्कारी बयानलाई पुष्टि हुने विभिन्न किसिमका प्रमाणहरु पनि पेस गर्नुभएको छ । प्रमाण भनेको पीडित भनेको व्यक्तिको हकमा जन्मदर्ताको विषयवस्तु । जन्मदर्ताका प्रमाण केही भेटिएका छन् । बयान प्रमाणित हुन पाएको छैन, आज श्रीमान चाँडै निस्किएका कारणले । पीडितले अनुसन्धानको क्रममा एउटा कागज दिनुभएको छ । उक्त कागजमा भएको व्यहोरामा डाक्टरहरुको समूहमा स्वास्थ्य परीक्षण गराउनुभएको छ, त्यहाँ दिनुभएको केस हिस्ट्रीको विषयवस्तु, अलिकति फरक देखिन्छ । त्यो बिरोधाभाषपूर्ण छ । नागरिकतालाई प्रमाण मान्ने की जन्मदर्तालाई भन्ने विषयवस्तु नै मुख्य विषयवस्तु छ ।’
 
सन्दीपमाथि गत भदौ ५ मा काठमाडौंको एक होटेलमा लगेर एक १७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोग छ । पीडित बालिकाले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । 

Logo