पाकिस्तानले आइसिसी टि२० विश्वकपमा दक्षिण अफ्रिकामाथि जित निकालेको छ । बिहीबार भएको खेलमा पाकिस्तानले अफ्रिकामाथि ३३ रनको जित निकालेको हो ।
जितका लागि १४२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका निर्धारित १४ ओभरमा ९ विकेट गुमाउँदै १०८ रनमै समेटिएको हो । पाकिस्तानले खेलको निर्धारित २० ओभर नै खेल्यो । तर, दक्षिण अफ्रिकाले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेल १४ ओभरमा झारिएको थियो । र, डिएलएसको आधारमा दक्षिण अफ्रिकाले नयाँ लक्ष्य पाएको थियो ।
दक्षिण अफ्रिकाका लागि कप्तान टेम्बा बाभुमाले ३६ रन जोड्नुबाहेक अन्य खेलाडीले आशा लाग्दो प्रदर्शन गर्न सकेनन् । एडिन मार्क्रमले २० रन, ट्रिस्टान स्टुब्सले १८ रन तथा हेईनरिच क्लासेनले १५ रन बनाए ।
बलिङतर्फ पाकिस्तानका शहिन शाह अफ्रिदीले सर्वाधिक ३ विकेट लिए । त्यस्तै, सादब खानले २ विकेट लिए भने मोहम्मद वासिम जुनियर, नसिम शाह र हरि रौफले एक एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको थियो । पाकिस्तानका लागि शादब खान र इफ्तिखार अहमदले अर्धशतक पारीको योगदान दिए । शादबले ५२ रनको विष्फोटक इनिङ खेल्दा इफ्तिखार ५१ रनमा आउट भए । त्यस्तै, मोहमद नवाज र मोहमद हरिसले समान २८/२८ रन जोडे ।
बलिङतर्फ दक्षिण अफ्रिकाका एनरिच नोर्कियाले सर्वाधिक ४ विकेट लिए । साथै वेन पार्नेल, कागिसो रबाडा, लुन्गी एनगिडी र तबरेज शाम्सीले एकएक विकेट लिए ।
यो जितसँगै सुपर १२ को समूह बी मा रहेको पाकिस्तान ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । पाकिस्तानले सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ ।
तर, यो हारसँगै दक्षिण अफ्रिका भने एक खेल अगावै सेमिफाइनलमा पुग्नबाट चुकेको छ । दक्षिण अफ्रिका ४ खेलमा ५ अंकका साथ दोस्रो स्थानमा छ । यदी आजको खेल जितेको भए दक्षिण अफ्रिकाको ७ अंक हुन्थ्यो । जुन सेमिफाइनलका लागि पर्याप्त थियो । भारत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।





























प्रतिक्रिया