मतदाता नामावलीबाट दुई लाख ५० हजार मतदाताको नाम हटाइएको छ ।
निर्वाचन आयोगले आमनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्दा मृतक र दोहोरिएका मतदाताको नाम हटाएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय निर्वाचनपछि नाम हटाउन आयोगले गरेको परिपत्रबमोजिम दुई लाख ३० हजार मृतक मतदाता र दोहोरिएका २० हजार गरी २ लाख ५० हजार मतदाताको नाम हटाइएको जानकारी दिए ।
आगामी निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता मतदान गर्न योग्य छन् । स्थानीय निर्वाचनमा मतदाता सङ्ख्या एक करोड ७७ लाख ३३ हजार ७२३ रहेको थियो । स्थानीय निर्वाचनपछि मतदाता नामावली दर्ता सुरु हुँदा करिब चार लाख ७१ हजार जनाको नामावली सङ्कलन गरिएको थियो ।
आयोगले मृतक मतदाताको नाम मतदाता नामावलीबाट हटाउन जिल्ला निर्वाचन कार्यालयमार्फत प्रत्येक वडामा मतदाताको सूची पठाएको थियो । जिल्ला निर्वाचन कार्यालय, काठमाडौँका प्रमुख ठाकुरप्रसाद भट्टराईले भदौ तेस्रो साता मतदाता नामावलीमाथि दाबी विरोधका लागि वडामा सूची पठाउँदा वडाले गरेको सिफारिसका आधारमा मतदाताको नाम हटाइएको बताए ।
वडा सचिवले वडा कार्यालयमा दर्ता कायम मृतकको नामसँग भिडाउँदा फेला परेका मृतकको नाम नामावलीबाट हटाउन जिल्ला निर्वाचन कार्यालयमा सिफारिस गरेको थियो ।































प्रतिक्रिया