मोरङ- ३ मा रेखा थापालाई भव्य स्वागत

मोरङ- ३ मा रेखा थापालाई भव्य स्वागत

केन्द्रबिन्दु
0
Shares

मोरङ क्षेत्र नम्बर ३ ले इतिहासमै पहिलो पटक महिला उम्मेदवार पाएको भन्दै पथरीशनिश्चरे -८ का महिलाहरू उत्साहित भएका छन् । 

आज चुनावी घरदैलो कार्यक्रमका क्रममा पथरीशनिश्चरे -८ स्थित मिलन चोकमा महिलाहरूको समूहले राप्रपाकी उम्मेदवार रेखा थापालाई स्वागत गरेका हुन् । यो क्षेत्रमा पहिलो पटक महिलाहरूको प्रतिनिधित्व गर्ने व्यक्ति पाएकोमा आफूहरू उत्साहित रहेको उनीहरूले बताएका छन्  । 

थापालाई फूल माला र अविरसहित स्वागत गर्न आएकी स्थानीय मन्जरा कार्कीले भनिन्- 'यो क्षेत्रमा एउटा महिला प्रतिनिधि भएर कोही पनि आएको थिएन । पहिलो पटक आफ्नो प्रतिनिधि पाएको अनुभूति भएर स्वागत गर्न गएकी हुँ । पहिले पर्दामा मात्रै देखिएको थियो आज आफैं हाम्रो ठाउँमा आउनु भएको छ । हामी उहाँलाई जिताउने अभियानमा लागेका छौँ ।' 

त्यस्तै स्वागत गर्न आएकी अर्की महिला दुर्गा पोखरेल भन्छिन्- 'हामी महिलाहरू धेरै नै उत्पीडनमा परेका छौं । पुरुष प्रतिनिधि आउँदा हामी हाम्रो समस्या सुनाउन पनि सक्दैनौं । महिला नै प्रतिनिधि हुँदा आत्मीयताको महसुस गरेर उहाँलाई स्वागत गरेका हौँ ।' 

उम्मेदवार थापाले महिलालाई तालिम दिने र क्षमता अनुसारको सिप सिकाउने प्रतिबद्धता जनाउँदै आएकी छन् । उनको यो अभियानले आफूलाई राहत मिलेको  मन्जरा बताउँछिन् । 'एक त हामी महिलाहरूलाई चुल्हो र घर धन्दाबाटै फुर्सद हुँदैन । त्यसमा पनि हाम्रा पढेलेखेकै दिदी बहिनीहरू पनि काम बिना त्यसै बस्न बाध्य छन् । अवसर सिर्जना गराइदिने जनप्रतिनिधि भइदिए हामी पनि आर्थिक रूपमा परिवारलाई सहयोग गर्न सक्छौँ ।' उनले भनिन् । 

चलचित्र जगतबाट ख्याति कमाएकी थापालाई मोरङ ३ मा महिलाहरूले दरिलो साथ दिँदै आएकी छन् । 

Logo