नाबालिग बलात्कार अभियोगमा राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
अदालतको आदेशमा उनलाई शुक्रबार केन्द्रीय कारागार सुन्धारा पठाइएको हो । यसअघि गौशाला प्रहरीको थुनामा रहेका सन्दीपलाई अदालतबाट सिधैं सुन्धारा लगिएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले आरोपित लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।
शुक्रबार नै वादी र प्रतिवादीका तर्फबाट थुनछेक बहस सकिएको थियो । उनीहरुको बहस सुनेपछि न्यायाधीश घिमिरेको ८ पाना लामो आदेश पत्रमा पक्ष विपक्षमा भएको बहसका आधारमा प्रतिवादी लामिछानेलाई धेरौटीमा रिहा वा तारेखमा छाड्ने प्रमाण नपुगेको र तत्कालका लागि थुनामा राखेर मुद्दाको थप कारवही अघि बढाउन भनिएको छ । थुनछेक बहसमा सरकारी वकिलहरु र जाहेरवालाको तर्फबाट वकिलहरुले सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्ने माग गर्दै बहस गरेका थिए भने सन्दीपको तर्फबाट बहस गर्ने वकिलहरुले धरौटीमा रिहा गर्न माग गरेका थिए ।
अदालतले पीडित किशोरीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक, प्रतिवादीका साक्षीहरुलाई वकपत्रका लागि मंसिर ८ गते उपस्थित गराउन पनि आदेश दिएको छ । यस्तै पीडितको जन्मदर्ताको अभिलेख किताबको सक्कल प्रति र नागरिकता प्रमाणपत्र बनाउदा भरेको अनुसूची फारमसहितको प्रतिलिपी समेत झिकाउन अदालतले भनेको छ ।
गत भदौ ५ गते १७ वर्षीय किशोरीलाई होटल काठमाडौं इनमा बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । त्यसपछि क्यारेबियन लिग खेल्न जमैका गएका उनले असोज २० गते नेपाल आएर प्रहरीसमक्ष आत्मसमपर्ण गरेका थिए । त्यसपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले लामिछानेविरुद्ध १० देखि १२ वर्ष सम्म कैद र पीडितलाई अभियुक्तबाटै यथोचित क्षतिपूर्ति भराउन मागदाबी गर्दै गत सोमबार अदालतमा मुद्दा दायर गरेको थियो ।





























प्रतिक्रिया