इंग्ल्यान्ड आइसिसी टि२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा श्रीलंकालाई ४ विकेटले पराजित गर्दै उपाधि होडलाई कायमै राखेको हो ।
श्रीलंकाले जितका लागि दिएको १४२ रनको लक्ष्य इंग्ल्यान्डले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको हो । इंग्ल्यान्डका लागि ओपनर एलेक्स हेल्सले सर्वाधिक ४७ रन बनाए । त्यस्तै, कप्तान जोश बटलरले २८ रन जोडे भने बेन स्टोक्सले ४२ रनमा नटआउट रहे ।
बलिङतर्फ लाहिरु कुमारा, धनन्जय डि सिल्भा र वानिन्दु हसरंगाले समान २/२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो । श्रीलंकाका लागि ओपनर पाथुम निसांकाले अर्धशतक पारी खेल्दै सानदार सुरुवात गरेका थिए । उनले ४५ बलमा सर्वाधिक ६७ रन जोडे । त्यस्तै, भानुका राजपक्षेले २२ रन तथा कुशल मेन्डिसले १८ रन बनाए ।
बलिङतर्फ इंग्ल्यान्डका मार्क वुडले ३ विकेट लिए । त्यस्तै, बेन स्टोक्स, क्रिस वोक्स, साम करन र आदिल राशिदले एकएक विकेट लिए ।
यो जितसँगै सुपर १२ को समूह ए मा रहेको इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । इंग्ल्यान्ड ५ खेलमा ७ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । अष्ट्रेलियाको पनि समान ७ अंक नै रहेपनि नेटरनरेटका कारण तेस्रो बन्यो । इंग्ल्यान्डको प्लस नेटरनरेट छ भने अष्ट्रेलियाको माइनस । योसँगै साविक विजेतासमेत रहेको अष्ट्रेलिया घरेलु मैदानमा समूह चरणबाटै बाहिरिएको छ ।
समूहकै शिर्ष स्थानमा रहेको न्युजिल्यान्डले यसअघि नै सेमिफाइनलको यात्रा पक्का गरिसकेको छ ।





























प्रतिक्रिया