मतदाताका वारेसप्रति चनाखो बन्न निर्वाचन आयोगको निर्देशन

मतदाताका वारेसप्रति चनाखो बन्न निर्वाचन आयोगको निर्देशन

केन्द्रबिन्दु
0
Shares

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दृष्टिबिहीन, शारीरिक अशक्तता वा अन्य कारणले मतदान गर्न नसक्ने मतदाताहरुका वारेस बनेर मतदान गर्नेप्रति चनाखो हुन निर्देशन दिएका छन् । 

अशक्तताहरुको नाममा कुनै उम्मेदवार वा राजनीतिक दलका प्रतिनिधिले वारेस बनी मतदान गरिदिएकोप्रति चनाखो हुन आयुक्त पलियाले निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएका हुन् । उनले गत स्थानीय तहको निर्वाचनमा दृष्टिबिहीन वा शारीरिक अशक्तता भएका अथवा अन्य कारणले मतदान गर्न नसक्ने मतदाताहरुको नाममा कुनै उम्मेदवार वा राजनीतिक दलको प्रतिनिधिले वारेस बनी मतदान गर्दा भनेअनुसार मतदान नभएको गुनासो आएको भन्दै त्यसप्रति चनाखो हुन आवश्यक रहेको बताए । 

थपलियाले गत स्थानीय तहको निर्वाचनमा आफैँ मतदान गर्नसक्ने मतदाताहरुले समेत आफू अशक्त भएको बहाना बनाइ अरुमार्फत मतदान गराएका केही उदाहरण आएकाले त्यसप्रति पनि सचेत रहन आग्रह गरे । उनले मतदानको सन्दर्भमा आफू अशक्त भएको बहाना बनाइ पक्षधर व्यक्तिलाई मतदान गर्न दिनु गम्भीर प्रकृतिको कसुर भएकाले त्यसो नगर्न पनि सचेत गराए । उनले यदी कुनै मतदाताले आफू मतदान गर्न सक्षम हुँदाहुँदै विभिन्न बहाना बनाएर अरुमार्फत मतदान गराउने किसिमको कार्य गरेमा निर्वाचन कसुर तथा सजाय ऐन अन्तर्गत कारबाही हुने चेतावनी दिएका छन् ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन प्रक्रियालाई समावेशी, लैङ्गिक एवं अपाङ्गतामैत्री बनाउने कुरामा ध्यान दिन पनि सम्बन्धित प्रमुख निर्वाचन अधिकृतहरुलाई निर्देशन दिए । उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा लैङ्गिक र अपाङ्गतामैत्री मतदान केन्द्र निर्माण गरी उदाहरण प्रश्तुत गर्न आग्रह गरे । प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान स्थलको सम्पूर्ण व्यवस्थापन गर्दा अपाङ्ग, सुत्केरी, ज्येष्ठ नागरिक, बिरामी, अशक्तहरुलाई सहज पहुँचको सुनिश्चितता कायम गर्नेगरी मतदान केन्द्र निर्माण गर्न आग्रह गरे । 

उनले मतदान स्थलमा गर्भवती, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, कृयापुत्री तथा सुत्केरी मतदाताहरुको लागि सामान्य अवस्थाको एउटा विश्रामस्थल निर्माण गर्नपनि निर्देशन दिए । आयोगले मतदान कक्ष बनाउँदा, मत पेटीका राख्दा, धेरै अग्लो ठाउँमा नबनाइ मतदान गर्ने ठाउँ सकेसम्म होचो कद भएका र अपाङ्गता भएका मतदाताहरुले पनि सजिलै मतदान गर्नसक्ने र मत पेटीकामा आफैले मत खसाल्न सक्नेगरी आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको छ । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान अधिकृतहरुले गर्भवती, सुत्केरी, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, क्रियापुत्री र आफ्नो काखमा बालबालिका लिएर आएका महिलाहरु र विशेष गरी अपाङ्गता भएका व्यक्तिहरुलाई विशेष प्राथमिकता दिइ उनीहरुले धेरै समय कुर्नु नपर्ने गरी मतदानको व्यवस्था मिलाउन निर्देशन दिए । आयोगले दृष्टिबिहीन र शारीरिक अशक्त भएका कुनैपनि कारणले मत संकेत गर्न नसक्ने मतदाताहरुले आफ्नो साथमा लिइ आएको आफ्नो घर परिवारको व्यक्तिलाई मतदान कक्षमा जानको लागि अनुमति दिनपनि आग्रह गरेको छ । 

त्यस्तै आयोगले लैङ्गिक एवं अपाङ्गतामैत्री मतदान स्थलमा हुनुपर्ने न्युनतम कुराहरु भएको छ कि छैन भन्नेकुरामा ध्यान दिँदै अशक्त मतदाताहरुलाई मतदान गर्ने मात्रै नभइ बाहिर निस्किने व्यवस्था पनि सहज गर्न निर्देशन दिएको छ । थपलियाले यो पटक निर्वाचन आयोगले मतदानको दिनसमेत आवश्यक व्यवस्थासहित नियन्त्रित र व्यवस्थित ढंगले सवारी साधनलाई पनि सञ्चालन गर्नेगरी आवश्यक प्रवन्ध गर्ने र गम्भीर प्रकृतिका अशक्त, ज्येष्ठ नागरिक लगायतका मतदाताहरुलाई सकेसम्म मतदान केन्द्रसम्म जान र फर्किनको निम्ति आवश्यक समन्वय गरी सवारी साधनको आवश्यक प्रवन्ध गरिदिन पनि आग्रह गरे । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले सबै मतदातालाई सहज ढंगले मतदान गर्ने अवस्था सिर्जना गरी यस पटकको निर्वाचन लैङ्गिक, समावेशी र अपाङ्गतामैत्री दृष्टिकोणबाट नमूना मतदान भएको छ भन्ने स्थापित गर्नेगरी काम गर्न पनि सम्बन्धित पक्षहरुलाई आग्रह गरे ।

Logo