निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बिथोल्ने व्यक्तिहरुलाई कारबाही गर्न खुट्टा नकमाउन निर्देशन दिएको छ ।
आयोगले कानूनको व्यवस्थालाई पूर्ण रुपमा अध्ययन गरी शतप्रतिशत कार्यान्वयन गराउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको हो । आयोगले कानूनको प्रभावकारी कार्यान्वयनबाट मात्रै निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत हुने भन्दै निर्वाचनलाई बिथोल्ने कुनैपनि व्यक्ति र तत्वहरुलाई कारबाही गर्ने कुरामा पछि नहट्न निर्देशन दिएको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सञ्चारकर्मीको कुराकानीमा शुक्रवार कानूनको प्रभावकारी कार्यान्वयन गर्ने कुरामा निर्वाचन अधिकृतहरुले पूर्ण रुपमा पालना गर्न र गराउन निर्देशन दिए । उनले निर्वाचन बिथोल्ने गतिविधि गर्नेहरुलाई नियन्त्रणमा लिइ निर्वाचन कसुर तथा सजाय ऐन अन्तर्गत कारबाही प्रारम्भ गर्न निर्देशन दिए ।
उनले भने- ‘हाम्रा सबै कानूनी व्यवस्था पूर्ण छन् । मात्रै पालना गर्नेले पालना गर्नुपर्छ, कार्यान्वयन गर्नेले कार्यान्वयन गर्नुपर्छ । म सबै मतदान अधिकृत साथीहरुलाई कानूनको व्यवस्थालाई पूर्ण रुपमा अध्ययन गर्न र आफ्नो तर्फबाट शतप्रतिशत कार्यान्वयन गराउन र यदी कसैले पालना नगरे त्यस्ता व्यक्तिलाई पनि कानून बमोजिम कारबाही गर्न खुट्टा नकमाउन पनि अनुरोध गर्दछु । कानूनको प्रभावकारी कार्यान्वयनले नै निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष हुन्छ, कतिपय ठाउँमा मैले जसरी पनि विजय हाँसिल गर्नुपर्ने हुन्छ, निर्वाचन जित्नुपर्छ, भन्ने मानसिकता बोकेका प्रतिनिधि र उम्मेदवारहरुको कारणले फर्जी मतदान हुने खतरा पनि रही रहने अवस्था हुन्छ, धेरै मतदान हुनु राम्रो हो तर हुँदै नभएका व्यक्तिको मतदाता नामावलीमा नाम भएको तर मतदान गर्ने दिन त्यहाँ उपस्थित नभएका व्यक्तिको मतदान गर्नु गम्भीर त्रुटी हो र निर्वाचनप्रतिको यो अवज्ञा पनि हो ।’
प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान गरिसकेको व्यक्ति पुनः मतदान गर्ने ठाउँमा आउँदा विभिन्न व्यवधान हुनसक्ने कुरालाई ध्यानमा राखि सुरक्षा निकायसँग समन्वय गरी त्यस्ता गतिविधि हुन नदिन पनि आग्रह गरे । निर्वाचन मतदान कार्यमा उम्मेदवारका प्रतिनिधि र उम्मेदवारहरुको पनि उत्तिकै महत्वपूर्ण भुमिका हुने भएकाले निर्वाचन कार्यलाई निष्पक्ष र स्वतन्त्र बनाउने कुरामा सहयोग हुने अपेक्षा गरेको उनले बताए ।
उनले भने- ‘यसमा सुरक्षा निकायसँग समन्वय गरी मतदान गर्नासाथ सबै मतदाताहरुलाई कुनै किसिमको भीडभाड हुन नदिइ आफ्नो घरतर्फ जानको लागि प्रेरित गर्ने, यदी कसैले आनाकानी गर्छ, निर्देशन पालना गर्दैन भने कानून बमोजिम कारबाही गर्नको निम्ति पनि आवश्यक प्रक्रिया प्रारम्भ गर्न अनुरोध गर्दछु । निर्वाचन मतदान कार्यमा उम्मेदवारका प्रतिनिधि र उम्मेदवारहरुको पनि उत्तिकै महत्वपूर्ण भुमिका हुन्छ । हामीले स्थानीय तहबाट नै स्वयंसेवकहरु परिचालन गर्दछौँ । उहाँहरुले पनि त्यो भुमिका निर्वाह गर्नुपर्ने हुन्छ । यो विषयलाई गम्भीरतापूर्वक लिइ सुरक्षा कार्यमा खटिने सुरक्षाकर्मी साथीहरुले समेत मतदान अधिकृतको निर्देशनलाई पालना गरी यदी कहीँ कसैले यस किसिमको प्रयत्न गरे तत्काल नियन्त्रणमा लिइ निर्वाचन कसुर तथा सजाय ऐन अन्तर्गत कारबाही प्रारम्भ गर्नपनि विशेष अनुरोध गर्दछु ।’
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोग प्रतिनिधि सभा सदस्य एवं प्रदेश सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताए । उनले आयोगले अहिले सबै निर्वाचन अधिकृतको कार्यालयबाट मतदान कार्यमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृत र अन्य कर्मचारीहरुको नियुक्ति भइ तालिम दिने प्रक्रिया प्रारम्भ भइसकेको बताए । मतदानको निम्ति मतपेटिका, मतपत्र लगायत आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरुको समान महत्व भएकाले सामानहरु रुजु गर्दा ठिक भए/नभएको र पर्याप्त भए÷नभएको यकीन गर्न आग्रह उनले गरे ।
उनले आफूलाई तोकिएको मतदान केन्द्रमा समयमा नै पुगि तोकिएका निर्देशनका सूचनाहरु प्रकाशित गर्ने र ४८ घण्टा अघिदेखि कुनैपनि किसिमको प्रचारप्रसार गर्न निषेध गर्नुपर्ने व्यवस्था र मतदानको तीन दिनअघि सम्पूर्ण मतदान क्षेत्रभर, जिल्लाभर मदिरा निषेधित क्षेत्र घोषणा गर्नुपर्ने विषयलाई विशेष ध्यान दिन पनि निर्देशन दिए । मतदानको दिन मतदान केन्द्रको सम्पूर्ण निरीक्षण गरी मतदान कार्य प्रारम्भ गर्न पनि आग्रह गरे । निर्वाचनमा सबैभन्दा महत्वपूर्ण काम मतपत्रमा दस्तखत भएकाले निर्वाचन अधिकृतले यो कुरामा लापरबाही नगर्न पनि उनले अनुरोध गरे ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदाताहरुले स्वच्छ, स्वतन्त्रता पूर्वक मतदानमा सहभागी हुन नसक्ने अवस्था सिर्जना भए अवस्थाको यथार्थ वस्तुस्थितिबारे आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा तत्काल जानकारी गराइ आयोगको निर्देशन बमोजिम कार्य अघि बढाउन निर्देशन दिए । उनले कतिपय अवस्थामा स्वस्तिक छाप र स्ट्याम्प प्याडको कारणले पनि केही मतपत्रहरु बदर भएका उदाहरण सुनिएको भन्दै बेलाबखत त्यसको चेकजाँच गर्ने र कहीँ कतै समस्या देखिए तत्काल मतदानलाई केही समय स्थगित गरी सामग्रीको व्यवस्था गरेर मतदान कार्यलाई सुचारु गर्नतर्फ पनि ध्यानाकर्षण गराए ।





























प्रतिक्रिया