मतदातालाई रेखा थापाको प्रश्न- ‘छोरा नातिलाई खाडी पठाएर कहिलेसम्म पार्टी बचाउने ?’

मतदातालाई रेखा थापाको प्रश्न- ‘छोरा नातिलाई खाडी पठाएर कहिलेसम्म पार्टी बचाउने ?’

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मोरङ क्षेत्र नम्बर ३ की उम्मेदवार रेखा थापाले 'पार्टी बचाउन कहिलेसम्म छोरा नातिलाई खाडी पठाउने'भन्दै मतदातालाई प्रश्न गरेकी छन् ।

शुक्रवार उम्मेदवार थापाले घरदैलो कार्यक्रमको २५औँ दिन बेलबारी २ पुगेर यस्तो प्रश्न गरेकी हुन् । उनले भनिन्- 'पार्टी पार्टी भनेर कति त्यही पार्टीसँग सती जानुहुन्छ ? आफ्नो घर बिग्रेको थाहा छैन, छोरा नातिलाई खाडी पठायो अनि मेरो महान् पार्टी फलानो भन्यो दौडियो । आफ्नो सन्तान बचाउन नसक्ने तपाइको महान् पार्टी कहिलेसम्म जोगाइदिने ? कस्कोलागी जोगाइदिने ? अब पनि बुझ्नुभएन भने के राजनीति गर्नुहुन्छ ?'

थापाले युवा पुस्तालाई नेताको पछाडि नदौडिन आग्रह पनि गरेकी छन् । भ्रष्ट नियत भएका नेताको पछि दौडिएर युवा पुस्ताले आफ्नो समय वर्वाद गर्न नहुनेमा उनले जोड दिएकी छन् । उनले भनिन्- 'म मेरा दाजुभाइहरूलाई अनुरोध गर्छु । कुनै नेताको पछाडि जिन्दाबाद र मुर्दावाद भन्दै नदौडिनुहोला । आज जुन नेताको पछि दौडनु हुन्छ त्यी नेता ठाउँमा पुग्लान् तर चुनाव सकिएको २/४ दिन पनि बित्न नपाउँदै मेरा दाजुभाइ कुन खाडी मुलुक पुग्ने हो थाह छैन ।'

उनले युवाहरूलाई केही काम नभए घरमा आमा श्रीमतीलाई काम सघाउन आग्रह गरेकी छन् । 'काम सघाउँदा बरु आमा त खुसी हुन्छिन् । त्यो तपाइको मत किनेर गएको नेताले जितेको भोलिपल्ट तपाईँलाई चिन्दैन । के को लागि हिँड्ने जिन्दाबाद, जिन्दाबाद गर्दै ?' उनले साेधिन् । 

उम्मेदवार थापाले आफू नेता बन्नको लागि राजनीतिमा नलागेको जिकिर गरेकी छन् । जनताले अनुमोदन गरे जनप्रतिनिधिको परिभाषा ५ वर्षमा परिवर्तन गरेर देखाउने बताएकी छन् । उनले भनिन्- 'जनता र जनप्रतिनिधिबीचको खाडल भर्न आएकी हुँ । ५ वर्षमा मैले गरेको काम देखेर चित्त बुझ्यो भने त्यो बेला मलाई नेता मान्नु । अहिले म नितान्त तपाईँहरूको सेवक बन्न आएकी हुँ । म माथि मत लगानी गरेर मलाई सेवा गर्ने अनुमती दिनुहोस् भन्न आएको हुँ ।'

नेपाली जनताले धेरै पटक पार्टी जोगाएको र अब परिवर्तनका लागि युवा पुस्ताको जोस-जाँगर जोगाउनेमा आफू विश्वस्त रहेको थापाले बताइन । मोरङ ३ परिवर्तनको पक्षमा रहेकाले आफ्नो जित सुनिश्चित रहेको उनले दाबी गरेकी छन् । 

थापालाई महिला, नयाँ मतदाता र सुकुम्वासीहरूको बलियो साथ रहेको छ । उनले आफूलाई यस क्षेत्रमा विकल्पको रूपमा प्रस्तुत गर्न सफल भएकाले सम्भावना पनि बढ्दै गरेको पाउन सकिन्छ ।

Skip This
Skip This
Logo