काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सत्ताको खेलमा नेकपाले गाईजात्रा देखाएको बताएका छन् । शुक्रबार पार्टी सम्बद्ध ट्रेड युनियन महासंघ नेपाल (टुकोन) द्वारा प्रकाशित मुखपत्र (परिश्रम) त्रैमासिक बुलेटिनको विमोचन गर्दै अध्यक्ष थापाले त्यस्तो बताएका हुन् ।
सरकार मुलुकका जल्दाबल्दा समस्या समाधान गर्न पूर्ण रुपमा असफल भएको उनको आरोप छ । थापाले मन्त्रीका वरपर बस्ने आसेपासेहरु नै भ्रष्टाचारमा लिप्त भएको भन्दै कोरोना महामारीका बीचमा भएका भ्रष्टाचार अक्षम्य भएको बताए । सर्वसत्तावाद, भ्रष्टाचार र धर्म परिवर्तन अहिलेको प्रमुख समस्या भएको भन्दै थापाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रभावहिन देखिएको बताए ।
यस्तो अवस्थामा मुलुकमा भरपर्दो र इमानदार शक्तिको आवश्यकता भएको उनको भनाइ छ । साथै, त्यो आवश्यकता पूरा गर्न राप्रपा एकता भएको उनको दाबी छ । पार्टी एकता सफल हुन नदिन चलखेल भएको उनको आरोप छ । तर त्यससलाई चिरेर राप्रपा अघि बढ्ने उनको विश्वास छ । अध्यक्ष थापाले राप्रपा विदेशी शक्तिको इशारामा नचल्ने स्वाभिमानीहरुको राष्ट्रवादी शक्ति भएको समेत स्पष्ट पारेका छन् ।
त्यस्तै कोरोना भाइरसका कारण पिल्सिएका जनता, उद्योगी, व्यवसायी र मजदुरहरुको हितमा काम गर्न सरकार असफल भएको थापाको टिप्पणी छ । मजदुरहरुको आवाजलाई बाहिर ल्याउन बुटेटिन प्रकाशित गरिएको संगठनका अध्यक्ष हिक्मतसिंह भण्डारीले बताए । पत्रिकाको सम्पादन कृष्ण खनालले गरेका छन् ।































प्रतिक्रिया