मोरङको ३ मा संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.सुनिल शर्माले आफूले चुनाव जिते ७२ घण्टाभित्र ५० शैयाको निःशुल्क अस्पताल सञ्चालनमा ल्याउने घोषण गरेका छन् ।
आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनको प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहेका डा.शर्माले विपन्न नागरिकको उपचारका लागि ५० शैया सहितका २५ ओटा केविन सञ्चालन गर्ने उद्घोष गरेका हुन् । २०७४ को आम निर्वाचनमा सोही क्षेत्रबाट झिनो मतले पराजित भएका डा.शर्माले आफूले चुनाव हारेर पनि जनताको सेवा जारी राखेकोमा चुनाव जितेपछि आफूमाथि जनताको अपेक्षा बढ्ने भएकाले जनअपेक्षाको सम्बोधनका लागि ५० शैयाको केविन पाँच वर्षसम्म निःशुल्क सञ्चालन गर्ने लागेको स्पष्ट पारे ।
२०७४ को चुनाव जितेर सांसद हुँदै मन्त्री बनेका नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले कोरोनाकालमा एक अर्ब २४ करोड रुपैयाँ भ्रष्टाचार गरेको ठहर संसदीय समितिले गरेको भन्दै त्यस्ता उम्मेदवारलाई अब जनताले मत दिन नहुने स्मरण गराए । कोरोनाकालमा स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका ढकालले अनुदानमा आएको कोरोना परीक्षण किट प्रयोग गरी कोरोना परीक्षण गर्दा पाँच हजार पाँच सय रुपैयाँ शुल्क असुली गरेको र परीक्षणको अनुमतिसमेत आफू अनुकूल हुने अस्पतालहरुलाई मात्र दिएको भन्दै डा.शर्माले प्रजातन्त्रमा विश्वास गर्ने जनताले त्यस्ता उम्मेदवारलाई मतपत्रबाट कडा जवाफ दिने विश्वास व्यक्त गरे ।
जनताको स्वास्थ्य उपचारको जिम्मा सरकारको भएको बताउँदै डा.शर्माले सरकारी कोषबाट तत्काल सम्भव नभए निजी स्रोतबाट सेवा प्रवाह गरेर भएपनि पैसा नभएकै कारणले कसैको ज्यान जाने अवस्था आउन नदिने उल्लेख गरे । जुनसुकै राजनीतिक आस्था बोकेको व्यक्ति भएपनि समस्यामा परेको अवस्थामा आफूले तत्काल सहयोग गर्ने प्रतिबद्धतासमेत डा।शर्माले व्यक्त गरे । डा.शर्माको मुख्य प्रतिस्पर्धीका रूपमा यस पटक पनि एमालेका तर्फबाट पूर्वमन्त्री ढकाल नै मैदानमा रहेका छन् । उता, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले भने नेपाली चलचित्र अभिनेत्री रेखा थापालाई यसै क्षेत्रबाट उठाएको छ ।





























प्रतिक्रिया