नेपालले जित्यो युएईविरुद्धको ओडिआई सिरिज, ज्ञानेन्द्र र आसिफको उत्कृष्ट ब्याटिङ

नेपालले जित्यो युएईविरुद्धको ओडिआई सिरिज, ज्ञानेन्द्र र आसिफको उत्कृष्ट ब्याटिङ

केन्द्रबिन्दु
0
Shares

नेपालले संयुक्त अरब एमिरेट्स (युएई)विरुद्धको ओडिआई सिरिज जितेको छ । शुक्रबार टियु क्रिकेट मैदानमा भएको तेस्रो तथा निर्णायक ओडिआई खेलमा युएईमाथि नेपालले ६ विकेटको जित निकालेको हो । योसँगै नेपालले सिरिज २-१ले जितेको छ । 

युएईले जितका लागि दिएको १७७ रनको लक्ष्य नेपालले ४०.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका लागि पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र आशिफ शेखले अर्धशतक पारी खेले । आशिफ ८८ रनमा अविजित रहे भने ज्ञानेन्द्रले ६४ रन जोडे । त्यस्तै, कप्तान रोहित कुमार पौडेलले १० रन बनाए । 

बलिङतर्फ युएईका आयन खान र हजरत बिलालले एकएक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । खराव सुरुवात गरेको युएईका लागि आठौं नंबरमा आएका आयान अज्फल खानले अर्धशतक पारी खेले । उनी ५४ रनमा अविजित रहे । उनलाई हजरत बिलालले क्रिजमा साथ दिए । हजरत पनि २० रनमा अविजित रहे । ९३ रन जोड्दा ९ विकेट गुमाएको युएईका लागि आयन र हजरतले अन्तिम विकेटका लागि ८३ रनको साझेदारी गरेका थिए ।

त्यसअघि अलिशान सारफूले ३३ रन, रोहन मुस्ताफाले २४ रन तथा मोहम्मद वासिमले ११ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् ।  

बलिङतर्फ नेपालका गुलशन झा, दीपेन्द्रसिंह ऐरी र  कुशल भुर्तेलले समान २/२ विकेट लिए । सोमपाल कामी र ललित राजवंशीको नाममा एकएक विकेट रह्यो । 

नेपाल पहिलो खेलमा हार व्यहाेर्दा दोस्रो खेलमा भने विजयी भएको थियो । आइसिसी विश्वकप लिग-२ को लागि नेपालले नामिबिया भ्रमणअघि अभ्यासका लागि याे सिरिज खेलेकाे हाे ।  

Logo