‘बिना बर्दीमा गौंडा-गौंडामा बसेका छौँ, आचारसंहीतालाई छल्ने प्रयास नगर्नुस्’ -आयुक्त भण्डारी

‘बिना बर्दीमा गौंडा-गौंडामा बसेका छौँ, आचारसंहीतालाई छल्ने प्रयास नगर्नुस्’ -आयुक्त भण्डारी

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले विगतको तुलनामा यस वर्ष निर्वाचन प्रचारप्रसारको समयमा आचारसंहीता उल्लंघनका घटना कम भएको बताएको छ । आयोगले निर्वाचन आचारसंहीतालाई कडाईका साथ कार्यान्वयन गराउँदा विगतको तुलनामा कमैमात्र आचारसंहीता उल्लंघनका घटना भएको बताएको हो ।

शनिवार आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले  निर्वाचन प्रचारप्रसारका क्रममा कम मात्रै आचारसंहीता उल्लंघन भएको तर स्थिर समयमा बढी आचारसंहीता उल्लंघन हुनसक्ने बताए । उनले आफू र आफ्ना दलका प्रतिनिधि जिताउने प्रयोजनका लागि अन्तिम समयमा अझै बढी दलका नेता र उम्मेदवारहरु लापरबाही गर्नसक्ने भन्दै आयोगले सोही अनुरुप नियन्त्रण र नियमन गर्ने व्यवस्था मिलाएको बताए । 

उनले निर्वाचन आचारसंहीतालाई स्थिर समयमा हुनसक्ने उल्लंघनलाई मध्यनजर गरी निगरानीमा कडाइ गरेको बताए । निर्वाचन आयोग निर्वाचन आचारसंहीता उल्लंघन नगर्न र नगराउनका लागि गौंडा गौंडामा बिना बर्दीमा खटिएको भन्दै निर्वाचन आयुक्त भण्डारीले बर्दीमा कोही छैन भनेर आचारसंहीतालाई छल्ने प्रयोजनलाई चिहाउने प्रयास नगर्न पनि चेतावनी दिए ।

निर्वाचन आयुक्त भण्डारीले आयोगलाई आचारसंहीता कडा गरेन भन्ने आरोप लाग्दै आएकाले त्यसलाई चिर्न र कानूनको कार्यान्वयन गराउन यस पटकको निर्वाचनमा आयोगले आचारसंहीतामा कडाइ गरिरहेको बताए । उनले आयोगले आचारसंहीता कडाईबारे विभिन्न राजनीतिक दल र नेताहरुसँगको छलफलपछि नै निर्णय लिएको बताए । निर्वाचन आयुक्त भण्डारीले आयोगले गत स्थानीय तहको निर्वाचनमा भएका कमी कमजोरी यस पटक हुन नदिन गहन अध्ययन गरी आचारसंहीता लागू गरेको स्मरण गराए । 

भण्डारीले आचारसंहीतामा कडाइ नगरे स्वच्छ, निष्पक्ष, भयरहीत निर्वाचन हुन नसक्ने भन्दै निर्वाचनलाई पूर्ण रुपमा सुसम्पन्न गर्न आयोग हरक्षण लागेको बतनए । आयोगले गरेको कामलाई अहिले आम जनताले साथ र सहयोग गरेको भन्दै आचारसंहीता उल्लंघन गर्नेलाई कानून अनुसार कारबाही गर्न आयोगले खुट्टा नकमाउने दाबी गरेका छन् ।

निर्वाचन आयुक्त भण्डारीले उम्मेदवार, कार्यकर्ता र राजनीतिक दलहरुलाई आयोगले कानूनद्वारा निषेध गरेका विषयवस्तु र निर्वाचनलाई धक्का पुग्ने काम बाहेकका गतिविधि गर्न नरोकेको स्पष्ट पारे । उजले आम नागरिकहरुलाई पनि निर्वाचन बिथोल्ने किसिमका गतिविधि बाहेक अन्य कुनै कुरामा निषेध नगरेको बताए । आयुक्त भण्डारीले विगतका निर्वाचनमा सडकभर पर्चा, पम्प्लेट, झण्डा देखिने गरेपनि यस पटकको निर्वाचनमा कुनैपनि त्यस्ता सामग्रीहरु छरपस्ट नरहेको उल्लेख गरे । 

उनले आयोगले पर्चा, पम्प्लेट, झण्डा टाँग्न नदिँदा निर्वाचन खर्चमासमेत मितव्ययिता भएको बताए । उनले आयोगको कडाईका कारण नै दल र उम्मेदवारहरुले पनि आचारसंहीताको पूर्ण पालना गरेको खण्डमा मितव्ययी निर्वाचन हुनसक्ने रहेछ भन्ने महशुस गरेको बताए । निर्वाचन आयुक्त भण्डारीले आवधिक निर्वाचन प्रजातन्त्रको सुन्दर पक्ष भएकाले यसलाई कुरुप बनाउने अधिकार कसैलाई नरहेको भन्दै स्वतन्त्र अभिव्यक्ति भनिरहँदा अर्को व्यक्तिको अधिकार हनन गर्ने काम गर्नु नुहने बताए ।

निर्वाचन आयुक्त भण्डारीले आयोगसँग निर्वाचनका लागि पर्याप्त समय नहुँदा मतदाता शिक्षा प्रभावकारी बन्न नसकेको बताए । उनले आयोगले निर्वाचनका लागि कुल १२० दिन पाउनुपर्ने भएपनि यस पटकको निर्वाचनमा समेत सय दिनको हाराहारीमा मात्रै समय उपलब्ध भएको बताए । 

उनले भने, ‘मतदान र मतपत्र भन्नेबित्तिकै मतदाता शिक्षाको कुरा आयो । हामीलाई कानूनले १२० दिन निर्वाचन अवधि चाहिन्छ भनेको छ तर अहिलेसम्म पूरा समय पाएका नै छैनाँै । अहिले पनि १०० दिनको हाराहारीमा पाएका थियौँ । मतदाता शिक्षालाई हामी कमी कमजोरी हुन दिँदैनौँ । मतदाता शिक्षाको हकमा शैक्षिक स्तरको पाठ्यक्रममा नै राखेर विकास गर्न, जनतालाई सुसुचित गर्न आवश्यक छ । मत बदर र सदरको कुरा भने विकसित मुलुकमा पनि धेरै मात्रामा मतपत्र बदर भएका छन् । यो कहिले पनि पूर्ण सदर हुँदैन । त्यसैले मतदाताहरु सचेत हुनुपर्छ । आयोगले कहिले पनि मतदाता शिक्षामा लोभ गरेको छैन । मतदाता शिक्षामा आयोग कमी गर्दैन, तर यसलाई विशेष पाटोबाट सम्बोधन गर्न नयाँ कानून आउनुपर्छ ।’ 

निर्वाचन आयुक्त भण्डारीले  मतदाता शिक्षालाई अझ प्रभावकारी बनाउनको लागि भने नयाँ कानूनको निर्माण गर्न अपरिहार्य रहेको बताए । 

Skip This
Skip This
Logo