ललितपुर निर्वाचन क्षेत्र नं २ र ३ को मतगणना सुरु भएको छ ।
ललितपुर निर्वाचन क्षेत्र नं २ को सादोबाटोस्थित राष्ट्रिय खेलकूद परिषद्को परिसरमा रहेको मतगणनास्थलमा मतगणना भइरहेको छ । निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार एउटै हलमा चार वटा गणनास्थल बनाएर मतगणना सुरु गरिएको हो । सर्वदलीय सहमतिपछि बिहान ४ बजेदेखि मतगणना थालिएको उनले जानकारी दिइन् ।
आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं २ मा ५० हजार ३४ मत खसेको थियो । सो क्षेत्रको प्रतिनिधिसभामा नेकपा (एमाले)का उम्मेदवार प्रेमबहादुर महर्जन र गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार कृष्णलाल महर्जन चुनावी प्रतिस्पर्धामा छन् ।
त्यस्तै ३ नं. क्षेत्रको निर्वाचन अधिकृतको कार्यालय रहेको जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना थालनी गरिएको छ । ललितपुर महानगरपालिका वडा नं २०, २१ र २२ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना सुरु गरिएको निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए । मतगणनालाई तीव्र बनाउन चार स्थानमा गणना गर्ने तयारी गरिएको छ । अहिले एक ठाउँबाट मात्र गणना शुरु गरिएको छ ।
सो क्षेत्रमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का पम्फा भुसाल, नेकपा (एमाले) का अमृत खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीको डा तोसिमा कार्कीलगायत प्रतिस्पर्धामा छन्।































प्रतिक्रिया