नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापालाई प्रधानमन्त्री पदमा प्रस्ताव गर्ने बताएका छन्।
काठमाडौं-४ बाट निर्वाचित भएका थापालाई बधाई दिँदै शर्माले संसदीय दलको नेता हुँदै नेपाल देशको प्रधानमन्त्री पदमा प्रस्ताव गर्ने बताएका हुन् । उनले सामाजिक सञ्जालमा गगनको फोटो राख्दै लेखेका छन्- 'जसलाई मैले संसदीय दलको नेता हुँदै नेपाल देशको प्रधानमन्त्री पदमा प्रस्ताव गर्नुछ।'
गगनले यस निर्वाचनको प्रमुख एजेण्डा नै आफू संसदीय दलको नेतामा लड्ने र मुलुक हाँक्ने सिटमा बस्ने बताएका थिए । आज आएको अन्तिम मत परिणामअनुसार उनले यो क्षेत्रबाट विजयी भएर ह्याट्रिक नै गरे ।
२१ हजार ३०२ मत प्राप्त गरेर विजयी भएका थापाले उक्त क्षेत्रबाट २०७० सालमा भएको दोस्रो संविधानसभा सदस्य र २०७४ मा भएको प्रतिनिधिसभा सदस्यमा निर्वाचनमा पनि विजयी भएको थिए । ७ हजार ४४७ मत अन्तरले थापा विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजन भट्टराईले १३८५५ मत प्राप्त गर्दै पराजित हुन पुगे ।
शर्मा पनि यसपटक झापा-१ बाट निर्वाचन लडेका छन् । उनले जित्ने प्रबल सम्भावना छ। एमालेका अग्नि खरेल भन्दा उनी अगाडि नै छन्।





























प्रतिक्रिया