राष्ट्रिय स्वतन्त्र पार्टीबाट क-कसले बजाए घण्टी ?

राष्ट्रिय स्वतन्त्र पार्टीबाट क-कसले बजाए घण्टी ?

केन्द्रबिन्दु
0
Shares

करिब पाँच महिनाअघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय राजनीतिमा नयाँ खेलाडीका रूपमा प्रकट भएको छ । यसैबीच स्वतन्त्र पार्टी सरकारमा सहभागी हुन्छ या प्रतिपक्षमै बस्छ भन्ने चासो पनि बढेको छ ।

यो रिपोर्ट तयार पार्दासम्म रास्वपाले प्रत्यक्षतर्फ देशभरी ४ ठाउँमा विजयको घण्टी बजाइसकेको छ । देशभरका मुख्य सहरी क्षेत्र र सहरी प्रभाव रहेका क्षेत्रहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ ५ निर्वाचन क्षेत्रमा अग्रता देखाएको छ भने अन्य केही क्षेत्रमा कडा टक्करमा छ । त्यस्तै समानुपातिकतर्फ पनि मुख्य तीन ठूला दलहरुलाई चुनौती दिईरहेको देखिन्छ । मतगणना जारी नै छ । को हुन् त रास्वपाबाट विजेता भएका ४ उम्मेदवारहरु ?
 
१. विराजभक्त श्रेष्ठ 
राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नं. ८ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका विराजभक्त श्रेष्ठ पहिला विवेकशील साझा पार्टीमा थिए । उनी २०७४ सालको निर्वाचनअघि उज्ज्वल थापासँगै विवेकशील साझाको अभियानमा लागे । २०७२ सालको महाभूकम्पपछि श्रेष्ठ राहत र उद्धार अभियानमा संलग्न भए । त्यसबेला उनले नेतृत्व गरेको स्वयंसेवक टोलीले राहत संकलन, वितरण र उद्धार अभियानसँगै मुस्ताङ र बर्दिवास जिल्लामा विपन्न समुदायका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । विवेकशील साझाका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले राजावादी दस्तावेज ल्याएपछि पार्टीबाट अलग भए ।

श्रेष्ठले वातावरण संरक्षणका लागि ‘फोर्स नेपाल’ संस्था खोलेर वृक्षरोपणको लागि ‘वान ट्री–मेरो जिम्मेवारी’ अभियान पनि चलाइसकेका छन् । उनीसँग नेपाल तेक्वान्दो संघ, काष्ठमण्डप पुनर्निर्माण समिति र हनुमानढोका दरबार क्षेत्र व्यवस्थापन कार्यदलमा रहेर काम गरेको अनुभव पनि छ । उनले ‘बिजनेस एड्मिनिस्ट्रेशन’मा स्नातक गरेका छन् । काठमाडौं ८ कै बासिन्दा श्रेष्ठले अध्ययनपछि आर्थिक रूपमा सक्षम रहन होटल–रेस्टुरेन्टहरू चलाएको अनुभव सँगै विभिन्न अस्पताल, कम्पनी र परियोजनामा व्यवस्थापकको जागिर पनि खाएको अनुभव छ । कामसँगै राजनीतिमा सक्रिय उनीे १० हजार १०५ मत ल्याउँदै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत ल्याए ।

२.सोविता गौतम
काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी भएकी छन्। २०५२ सालमा दोलखाको तामाकोशी गाउँपालिका जामुनेमा जन्मिएकी सोविता गौतमले त्रिभुवन विश्वविद्यालयको नेसनल ल कलेजबाट कानुन विषयमा स्नातक गरेकी छन्। उनले अधिवक्ताका रूपमा र पत्रकारिता क्षेत्रमा समेत काम गरेकी छन् ।२७ वर्षीया गौतम आफ्ना निकट प्रतिस्पर्धीलाई साढे तीन हजारभन्दा बढी मतले हराउँदै काठमाडौं क्षेत्र नम्बर २ बाट विजयी भएकी हुन् ।गौतमले १५२२९ मत पाएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मणिराम फुयालले ११५५५ मत प्राप्त गरेका छन्। उनीहरूको मतान्तर ३६७४ छ।यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवी पोखरेल तेस्रो स्थानमा छिन्। उनले ११हजार ४१४ मत ल्याएकी छिन् ।गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्ती चौथो स्थानमा छिन्। उनले ९४४८ मत ल्याएकी छिन् । नेतृ ओनसरी यसअघि सभामुख समेत भैसकेकी छिन । 

३.शिशिर खनाल
काठमाडौंको गोङ्गबु निवासी शिशिर खनाल शैक्षिक अभियन्ता, उद्यमी र सार्वजनिक नीतिको विशेषज्ञ हुन् । उनले सामुदायिक विकास निम्ति विश्वका विभिन्न देशहरूमा काम गरेर लामो अनुभव बटुलेका छन् । सिद्धार्थ वनस्थलीबाट एसएलसी, त्रि–चन्द्र कलेजबाट आइएस्सी, अमेरिकाको ब्रिजपोर्ट युनिभर्सिटी बाट राजनीति अर्थशास्त्रमा स्नातक तथा र युनिभर्सिटी अफविस्कन्सीन मेडिसनबाट सार्वजनिक नीतिमा मास्टर्स गरेका छन् । विजयी शिशिर टिच फर नेपालका संस्थापक हुन् ।खनालले १४२०४ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) सर्वेन्द्र खनालले ८९११ मत ल्याए भने नेपाली कांग्रेसका भीमसेन दास प्रधान ८८०५ मतसहित तेस्रो भए । उनीसँग पराजित भएका सर्वेन्द्र खनाल नेपाल प्रहरीका पूर्वमहानिरीक्षक हुन् भने भीमसेनदाश प्रधान पूर्व रक्षामन्त्री हुन् ।  

४.गणेश पराजुली
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा प्रतिनिधिसभातर्फ निर्वाचित पराजुली भर्खरैमात्र राजनीतिमा होमिएका हुन् । पुराना राजनीतिक दल र तिनका नेताबाट दिकदार भएपछि आर्थिक र राजनीतिक परिवर्तनका लागि उनी आफै निर्वाचनमा होमिएका हुन् । नेकपा एमालेले आफ्नो ‘लालकिल्ला’ दाबी गर्ने काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा ४ जना हेभीवेट नेतासँग प्रतिस्पर्धा गर्दै उनले घण्टी बजाएका छन् । ठूलाठूला दलका गठबन्धन उम्मेदवार र दुई हेभीवेटका नेताका बीचमा पनि आफ्नो उपस्थिति बलियो भएको उनले प्रमाणित गरेका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार श्यामकुमार घिमिरेलाई १९४३ मतान्तरले पराजित गर्दै पराजुली ८७४३ मत ल्याई विजयी भएका हुन् । पराजित श्यामकुमार घिमिरेले ६८०० मत ल्याएका छन् । काठमाडौं–७ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार मानुषी यमि भट्टराईले ६ हजार ६३ मत ल्याएकी छिन् । 

Logo